नेपालमा पहिलोपल्ट ३१६५ मिटर उचाइमा देखियो पाटेबाघ 

नेपालमा पहिलोपल्ट ३१६५ मिटर उचाइमा देखियो पाटेबाघ 

नेपालमा पहिलोपल्ट इलाम जिल्लामा ३ हजार १ सय ६५ मिटर उचाइमा पाटेबाघ फेला परेको छ। वन तथा भूसंरक्षण विभाग र राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले संयुक्त्त विज्ञप्ति जारी गर्दै त्यसबारे जानकारी सार्वजनिक गरेका छन्। 

यो रोयल बङ्गाल बाघ हो। यो पाटे बाघको नामबाट पनि चिनिन्छ। नेपालमा पहिलोपल्ट यति धेरै उचाइमा पाटेबाघ देखिएको पहिलोपल्ट हो। 

रेडपान्डा नेटवर्कसँगको सहकार्यमा जडान गरिएका करिब २० वटा क्यामेरामध्ये एउटा क्यामेराको ट्र्यापमा उक्त्त पाटेबाघ परेको थियो। क्यामेराले उक्त्त बाघलाई गत नोभेम्बर १३ देखि २१ को बीचमा कैद गरेको थियो। 

कन्चनजंघा क्षेत्रमा पर्ने यो ठाउँमा गतवर्ष निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले दशवटा रेडपान्डा रेकर्ड गरेको थियो। भारतको सिङ्गालिला राष्ट्रिय निकुन्जमा यो क्षेत्र उत्तरी सिक्किमको प्रवेशद्वार पनि मानिन्छ। 

‘यसबाट नेपालको उच्च स्थानमा पनि पाटेबाघको वासस्थान छ भन्ने प्रमाणित भएको छ र अन्तरदेशीय करिडोरमा जनावरका लागि वासस्थान सुरक्षित गर्नुको महत्व पनि दर्शाएको छ’, विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसअघि भारतको अरुणान्चल प्रदेशमा करिब ३ हजार ६ सय ३० मिटर र भुटानको ४ हजार ३८ मिटर उचाइमा पनि यस्तै पाटेबाघ फेला परेको थियो। त्यस्तै पश्चिम नेपालको डडेल्धुरामा पनि करिब २ हजार ५ सय मिटर उचाइमा बाघ देखिएको थियो। 

पाटेबाघ विश्वकै दुर्लभ वन्यजन्तु हो। नेपालमा तराईका १८ जिल्लामा करिब पाँच संरक्षित क्षेत्र छन्।


One thought on “नेपालमा पहिलोपल्ट ३१६५ मिटर उचाइमा देखियो पाटेबाघ 

Leave a Reply

Your email address will not be published.