हाम्रो शिक्षा : दश कक्षा पढ्नेले नाम लेख्न नजान्ने, पढाउने शिक्षक पढ्नै नसक्ने

हाम्रो शिक्षा : दश कक्षा पढ्नेले नाम लेख्न नजान्ने, पढाउने शिक्षक पढ्नै नसक्ने

‘तिम्रो नाउँ लेख त!’ 

पाँच कक्षामा पढ्ने सिराहका एक छात्र र छात्रालाई भनियो। 

उनीहरूले पुलुक्क हाम्रो अनुहार हेरेर दुइवटा धर्को मात्र ताने। नाम लेख्न सकेनन्। 

आठ कक्षामा पढ्ने एक किशोरीलाई दुई कक्षाको अंग्रेजी किताब पढ्न लगाउँदा उनले पढ्नै सकिनन्। यो धनगढीको कुरो थियो। 

काठमाडौंको सरकारी क्याम्पस पढ्दै गरेकी कान्तिलाई चार कक्षाको अंग्रेजी किताब पढ्न लगाउँदा उनले दुई शब्द बाहेक पढ्न सकिनन्। 

‘दश कक्षा र १२ कक्षामा अंग्रेजी कसरी पास गर्‍यौ त?’ 

उनले भनिन् ‘दश कक्षामा त एसएलसी दिँदा स्कूलमा नै बोर्डमा सरले लेखेर सारेको हुनाले पास भएकी हुँ। ११ र १२ कक्षामा त खोइ कसरी भए थाहा भएन।’ 

कान्तिको यो अवस्था एकजना विद्यार्थीको भनाई मात्र होइन हाम्रो गाउँघरतिरको पढाईको नमुना हो।

प्राथमिक स्कूलकी एक शिक्षिकाले ५ कक्षाको नेपाली किताब राम्रोसँग पढ्न नसकेको नमुना तराईमा देखिएको छ। 

त्यहाँका प्रधानाध्यापकलाई सोध्दा, उनले भारतको विहारबाट प्रमाणपत्र ल्याएकी रहिछन्। 

उनलाई पढ्न आउँछ कि आउँदैन भनेर जाँच लिने कुरा भएन। राखियो। 

त्यस्तै प्रकारले अर्को स्कूलमा पनि एकजना शिक्षिकालाई एक कक्षामा पढाइ रहँदा तपाईंका विद्यार्थीहरु कति जना छन्?  कस्ता छन्?

 एउटा सानो टिपोट लेखेर दिनुस् भन्दा उनी वाल्ल परिन्। उनको स्कूलका प्रधानाध्यापकले भने–‘उनलाई लेख्न आउँदैन।’ 

‘लेख्न नआए कसरी पढाउँछिन् त?’ 

प्रधानाध्यापकले भने ‘उनले कमसेकम कक्षामा बालबालिकालाई चुप लगाएर राख्छिन्।’

सबैलाई २०२१सम्ममा ‘साक्षर नेपाल’ बनाउने नीति लिएर कुर्सीमा बसेकाहरुले सायदै कहिले पनि प्राथमिक विद्यालयमा कस्तो छ, स्कूलमा शिक्षक शिक्षीकाले पढाएका छन् कि छैनन्? भनेर हेरेका होलान्। 

रामेछापको एक स्कूलका प्रधानाध्यापक  भन्छन् ‘अहिले त विद्यार्थीहरुको पढाई झनै कमजोर भएको छ। पास गराउनैपर्ने नीतिले विद्यार्थीलाई कक्षा चढाउनैपर्छ। त्यसैले वर्षभरि कक्षामा केही नपढ्ने र अक्षर लेख्न नजान्नेलाई पनि पास गराएकै छौं। के गर्नु नियम यस्तै छ। पास नगराए शिक्षकलाई कारवाही हुन्छ। आमाबाबु पनि आफ्नो छोराछोरीलाई केही आओस् कि नआओस् कक्षा चढ्नै पर्छ भनेर झगडा गर्न आउँछन्। यसले गर्दा त झन् विद्यार्थीको पढाई खत्तम भएको छ।’

उनको कुरामा सिराह, पोखरा, काठमाडौंका धेरै शिक्षकहरू सहमत भएको पाइयो।

‘स्कुलमा न्यून विद्यार्थी आउने मध्ये डुम, चमार, मुसहर, धोवीका छोराछोरी हुन्छन्। उनीहरुलाई भनेर गाउँघरमा स्कूल खोलिएको छ, तर यी हेर्नुस् त डोमका बच्चाहरु त ५ कक्षामा छँदैछैनन्। एक कक्षामा १० जना भर्ना भएका थिए’ सिराहाका एक स्कूलका शिक्षकले स्कूलमा विद्यार्थी चार्ट बनाएका थिए र त्यसलाई देखाउँदै भने। 

‘झन् छोरीहरु त पटक्कै पढ्न पठाउँदैनन्। १०–११ वर्षमा विवाहको चलन छ। १३–१४ वर्षमा त गौना गरेर श्रीमान कहाँ गए पछि सन्तान जन्माउँदै फुर्सद छैन, पढाईको स्तर कस्तो हुन्छ?’

‘सरकारले सवैलाई साक्षर बनाउने कार्यक्रम भएपछि त उनीहरु पढ्न आउलान् नि!’

उनी भन्छन् ‘खोइ, यी हाम्रो स्कुलको हालत हेर्नुस् त, घुन लागेर सबै भित्ता खराव भइसक्यो। कागज कलम सबैमा घुन लागिरहेछ। समुदायलाई केही सहयोग गर भन्दा, तिमीहरुलाई सरकारले सवै कुरा दिन्छ हामीहरुले किन दिने भन्छन्, तर फेरि जति गरिव भए पनि विवाह र श्राद्धमा त उनीहरु हजारौं रुपैयाँ खर्च गर्छन्। जाँड रक्सी खान त जहिले पनि रकम आउँछ। त्यही पैसाबाट अलिकता स्कूललाई सहयोग गर भन्दा, सरकारले पैसा नलिनु भनको छ। तिमीहरु लिन आउँछौं? भनेर थर्काउँछन्। 

ती शिक्षकको भोगाइ वास्तविक हो। स्कूलका भित्ताहरुमा घुन लागेको त थियो नै किताबहरू पनि धमिराले खाइसकेका थिए।

तराई र पहाडका धेरैजसो प्राथमिक विद्यालयहरु यस्तै रोगबाट पीडित छन्। 

शिक्षिकलाई पढाउन आउँदैन, पाँच कक्षाका विद्यार्थीहरु नाम लेख्न जान्दैनन्। सरकारी स्कुलमा दश कक्षाका विद्यार्थीले सरकारी स्कूलको २–३ कक्षाको अंग्रजी पढ्न जान्दैनन्। 

पछि उनीहरु नै फेरि शिक्षक हुन्छन्। कता कताबाट प्रमाण पत्र खोज्छन्। यस्तो हालतमा सरकारले दिएको अनुदान कहाँ कति सम्म पुगेको छ कसैले मूल्यांकन गरेको छ? 

तर, सरकारले पनि यो सबै दुरावस्था किन देखाउनु किनकि अर्को वर्ष फेरि अर्बौको प्रोजेक्ट ल्याउनुछ। 

गाउँबाट १२ कक्षा पास गरेर आएकी एक किशोरी ‘स्वास्थ्य विज्ञान’ विषय पढ्ने कोशिस गरिहेकी छिन्। 

नेपाली उनलाई राम्रोसँग पढ्न आउँदो रहेछ तर ३ कक्षाको अंग्रेजी कितावको पहिलो दोस्रो पेज पढ भन्दा त उनले सकिनन्। 

लाज लागेर होला भनेर मैले त्यसो भए १० पेज सम्म सार र नेपालीमा अनुवाद गर भनेको आज २० दिन बितिसकेको छ। उनले मलाई लेखेर देखाएकी छैनन्। 

किनभने उनलाई त अंग्रजीको वाक्यहरु पढ्न आउँदैन। 

दश कक्षा कसरी पास गरिन्? सोधुँ कि नसोधुँ? यस्तो हालतमा सवैलाई कसरी साक्षर बनाउने होला?


Leave a Reply

Your email address will not be published.