एउटा गुमनाम थारु इतिहास

एउटा गुमनाम थारु इतिहास

घोराही बजारदेखि करिब दुई किलोमिटर दक्षिण घोराही उपमहनगरपालिका-१७ स्थित पनौरा गाउँको सय मिटरभित्र एउटा उत्तर-दक्षिणको लामो घर छ। जहाँ थारु समुदायको पहिचान झल्काउने भनेर एक दशक अगाडि थारु सांस्कृतिक संग्रहालय स्थापना गरिएको छ।

संग्राहलय स्थापना सँगै हेर्न आउनेहरूको चहलपहल पनि उत्तिकै थियो तर उक्त संग्राहलय अहिले बन्द छ। ५/६ वर्ष यतादेखि संग्रालय बन्द भएपछि त्यसबेला चर्चामा रहेको संग्राहलय अहिले गुमनाम अवस्थामा रहेको छ। 

थारु समुदायको पहिचान झल्काउने उद्देश्यले २०६६ मा स्थापना गरिएको संग्रहालयको संरक्षण गर्ने कोहि नभएपछि अलपत्र बनेको स्थानीयहरू बताउँछन्। 

‘त्यसबेला स्थानीय हुन् वा जिल्लामा आउने जोकोहिले टिकट काटेर संग्राहलयको अवलोकन गर्थे', स्थानीय तेजमान चौधरीले भने, '५/६ वर्ष यता संग्रहालय बन्द भएपछि बन्द भएको थाहा नपाएर हेर्न आउनेहरू फर्केर जान्छन्।’ लामो समयदेखि संग्राहलय खुल्न नसक्दा संग्राहलय भित्रका विभिन्न सामग्री बिग्रीन थालेका छन्।'

संग्रहालय भित्र थारु समुदायको पहिचान भल्किने विभिन्न सामग्री राखिएको छ। थारु समुदायले परम्परागतमा प्रयोग गरिएका विभिन्न माटाका भाडाँकुडा, पुर्खाहरूले लगाएका मौलिक भेषभुषा, गरगहना, खेतिपातीमा प्रयोग गरिने छत्री, हलो, जुवा, कोदाली,  माटाको डेहरी, कुठ्ली, भोक्टी, तरकारी चलाउने काठको डाडु, कर्छुल लगायत राखिएको छ। 

त्यसैगरि सुत्ने बेला प्रयोग गरिने खाट, बस्नको लागि प्रयोग गरिने खटौली, विभिन्न किसिमका बस्ने बेर्री, लुगा राख्नको लागि प्रयोग गरिने ढकिया, ढक्या, अठ्री, ढच्या, गोन्द्री, पटकी र विभिन्न थरिका माटाका देविदेवतासमेत राखिएको छ। 

यसैगरि दाङदेखि बुह्रान (बाँके, बर्दिया, कैलाली, कंचनपुर, सुर्खेत) मा बसाइसराई हुनेबेलाका झल्को दिनेगरि काठ्को मुर्ति बनाएर बुइमा केटाकेटी, टाउकोमा भौकाभौकी र हातमा ढक्या पक्रेको महिलाको मुर्ति र पुरुषहरूले बहिंगामा विभिन्न सामान बोकेको चित्र बनाएर राखिएको छ। 

गुमनाम रहेको संग्राहलयको विकासको लागि थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले लागि परेको बताए। संग्रालयको बृहत विकासको लागि गुरुयोजना बनाए स्थानीय तथा प्रदेश सरकारसँग समन्वय भइरहेको उनले बताए। 

तत्कालै स्थानीय सरकारसँग समन्वय गरेर भए पनि दाङको पुरानो सांस्कृतिक संग्रालय सञ्चालनमा ल्याउने र यसको दिगोरुपमा विकासको लागि सबैले पायक पर्ने ठाउँको खोजी गरिने उनले बताए।


Leave a Reply

Your email address will not be published.