तुलसीपुरमा अनलाइनबाटै घर नक्सा पास गर्न सकिने

तुलसीपुरमा अनलाइनबाटै घर नक्सा पास गर्न सकिने

डिजिटल तुलसीपुरको अभ्यास गरिरहेको तुलसीपुर उपमहानगरपालिकाले पुस १ गतेबाट अनलाइन नक्सा पासलाई अगाडी बढाउने भएको छ। 

अनलाइन सेवा आरम्भका बारेमा जानकारी दिनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा सेवाग्राहीले कार्यालयमा नगएरै यस्तो सेवा लिनसक्ने उपमहानगरपालिकाले जनाएको छ। 

'घर निर्माण गर्ने व्यक्तिले कुनै पनि कन्सल्टेन्सीबाट घरको डिजाइन गरेर अनलाइबाट रजिष्ट्रेशन गर्नसक्नेछ, कार्यालयमा अनलाइनबाटै प्राविधिकले त्यसको प्राविधिक पक्षका बारेमा अध्ययन गर्नेछ, त्यसपछि अनलाईनबाटै डिजिटल फाइल तयार भएर वडामा जानेछ, वडाबाट त्यहाँको इन्जिनियरले फिल्डको अध्ययन गरेपछि राजश्व तिरेर घर नक्सा पासको फाइल लैजान सकिने छ', इन्जिनियर अखिल पोख्रेलले भने। 

अनलाइन सेवा सुचारुका लागि सबै तयारी पुरा भएको भन्दै इन्जिनियर पोख्रेलले कागजात बोकेर कार्यालयमा लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य भएको बताए।

‘कार्यालयमा नटेकेरै सेवाग्राहीले सेवा लिन सक्नेछन्,’ उनले भने। युएनडिपीको सहयोगमा सफ्टवेयर तयार पारिएको पनि उनले जानकारी दिए।

अनलाइनबाट सेवा सुचारु भए नक्सापासको काम पारदर्शी हुने पनि उनको भनाई थियो। सफ्टवेयरलाई कार्यालयका कर्मचारी या सेवाग्राहीले जुनसुकै ठाउँबाट पनि चलाउन सकिने भएकाले सहज भएको उनले बताए। ‘कहिलेकाही कामको चाप भएको बेलामा घरबाट पनि काम गर्न सकिन्छ,’ पोख्रेलले पत्रकार सम्मेलनमा जानकारी दिए। 

घर निर्माणका लागि आवश्यक पर्ने कन्सल्टेन्सी र तालिमप्राप्त मिस्त्रीको बारेमा पनि सफ्टवेयरमा जानकारी राखिएको उनले बताए। ‘हामीकहाँ निकै कम कन्सल्टेन्सीहरू छन् यो संख्या बढाउन सके राम्रो हुने देखिन्छ,’ उनले भने। सफ्टवेयरको प्रयोग गर्दा सेवाग्राहीले कहाँनेर र किन काम रोकिएको छ भन्ने बारेमा घरमै बसेर जानकारी पाउँन सक्ने समेत उनले बताए। 

स्मार्ट सिटीको अवधारणा पुरा हुँदैछ : प्रमुख पाण्डे

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुर स्मार्ट सिटीको अवधारणाबाट अगाडी बढिरहेको बताए। उनले केही समय अगाडी कार्यालयलाई क्यासलेस बनाएको जानकारी दिँदै पेपरलेस बनाउनका लागि काम अगाडी बढिरहेको जानकारी दिए।

‘स्मार्ट सिटीको आधार तयार गर्दै अगाडी बढिरहेका छौं,’ नगरप्रमुख पाण्डेले भने। उनले अनलाइन सेवाले अनावश्यक ढिलासुस्ती गर्ने प्रवृत्तिको अन्त्य भएको समेत जानकारी दिँदै घर नक्सापासको मापदण्डका बारेमा कडाई गरिरहेको बताए। अनलाइन सेवा सुरु भएसँगै मापदण्डमा थप कडाइ हुने कुरामा उनको जोड थियो। 

अनलाइन सेवाले तुलसीपुरको शासनप्रणाली सुधारमा भूमिका खेल्ने उनको विश्वास थियो। ‘अब घरमै बसेर सेवाग्राहीले मेरा फाइल कहाँ छ भन्ने बारेमा जानकारी पाउनुहुनेछ,’ उनले भने। 

लुम्बिनी प्रदेशमा पहिलो पटक तुलसीपुरले घर नक्सा पास सेवा अनलाइनबाट सुरु गर्ने तयारी गरिरहेको भए पनि विविध कारणले बुटवल पछि दोस्रो भएको समेत बताए। 

‘हामी निर्वाचित भएदेखि नै हामीले अनलाइन सेवालाई प्राथमिकतामा राखेका छौं,’ उनले स्मरण गरे। तुलसीपुरले देशकै नमुनाका रुपमा विविध कठिनाई हुँदा पनि घटना दर्ता र राजस्व तिर्ने कुरालाई अनलाइन गरेको समेत उनले बताए। 

पत्रकार सम्मेलनमा नेकपाका मिनराज भण्डारी, नेपाली कांग्रेसका प्रमोद बस्नेत, राप्रपाका छोटिलाल चौधरी लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजिकरण नगर प्रवक्ता सुर्यवहादुर डाँगीले गरेका थिए।


Leave a Reply

Your email address will not be published.