चौथाइवालेको नेपाल धपेडीका विशेष लक्षण

चौथाइवालेको नेपाल धपेडीका विशेष लक्षण

गत बिहीबार (मंसिर २५ गते) प्रधानमन्त्री निवास बालुवाटारबाट एउटा तस्बिर सार्वजनिक भयो। त्यो तस्बिरको बीचमा थिए प्रधानमन्त्री केपी शर्मा ओली। अनि एक छेउमा अर्थमन्त्री विष्णु पौडेल र अर्को छेउमा थिए, भारतीय जनता पार्टीका नेता विजय चौथाइवाले।

ओली यहाँका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष पनि हुन्। अर्थमन्त्री त्यही पार्टीका महासचिव अनि चौथाइवाले भारतीय जनता पार्टी (सत्तारुढ) का विदेश विभाग प्रमुख हुन्। 

त्यो तस्बिर सार्वजनिक नहुँदासम्म नेपाल र भारत कतै पनि चौथाइवालेको नेपाल भ्रमणबारे खासै चर्चा थिएन। समाचारहरू पनि बाहिरिएका थिएनन्। 

चौथाइवालेको यात्रा उल्झन

बुधबार अपराह्नतिर चौथाइवाले गोरखपुरसम्म जहाजबाट आएका थिए। त्यसपछि उनी भैरहवासम्म निजी गाडीमै आए। त्यो दिन भैरहवामै बस्ने व्यवस्था त थियो, तर उनले मानेनन्। 

त्यही दिन भैरहवाबाट जहाजमै काठमाडौं आउने योजना बन्यो। बिडम्बना, बाक्लो हुस्सुका कारण सबै ‘फ्लाइट’ क्यान्सिल भयो र उनी फेरि सडकमार्गबाटै काठमाडौं आउन कस्सिए। 

त्यही दिन दाउन्नेमा भएको एउटा गाडी दुर्घटनाका कारण त्यहाँको बाटो पूरै जाम थियो। 

करिब १० किलोमिटरसम्मको जाम छिचोल्न कम्ति गाह्रो थिएन। 

वर्षायाममा पहिरो गएका कारण त्यहाँको बाटो सामान्य अवस्थामा पनि एकतर्फीमात्रै छ। त्यसमा पनि ‘फोरलेन’का लागि बाटो फेरि भत्काइएको छ। तै पनि उनी कुरे। 

बिहीबार बिहानपखमात्रै बाटो खुल्यो। उनी मुख्य राजमार्ग हुँदै काठमाडौं आइपुगे। 

होटेल सोल्टीमा ‘ब्रेकफास्ट’ र केहीबेरको आरामपछि उनी सिधै बालुवाटार पुगे र प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘भेटवार्ता’ गरे। त्यहाँ अर्थमन्त्री तथा नेकपा महासिचव पौडेल पनि थिए। 

त्यहीँबाट उनको ‘दलीय’ भेटवार्ता सुरु भयो। 

नेपाल भ्रमण सकिएपछि उनी जहाजबाट झापाको भद्रपुर विमानस्थल पुगे। त्यहाँबाट फेरि गाडीमा काँकडभिट्टा नाका हुँदै सिलिगुडी नजिकैको बागडोग्रा विमानस्थलबाट नयाँदिल्ली उडे। 

चौथाइवालेको नेपाल भ्रमण-संकेत

बिहीबार अपराह्न १ बजेर १० मिनेटमा प्रधानमन्त्री ओलीलाई बीचमा राखेर एउटा तस्बिर सार्वजनिक गर्दै चौथाइवालेले ट्विट गरे- ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको आतिथ्यताप्रति सम्मान। नेपाल कम्युनिस्ट पार्टीका महासिचव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणमा आज काठमाडौं आउन पाउँदा मलाई खुसी लागेको छ।’

नेपाली सडकका दुःख सहँदै काठमाडौं आइपुगेका चौथाइवालेको भ्रमणको प्रष्ट संकेत हो, भारतीय जनता पार्टीले नेपालमा ‘अन्तर-पार्टी’ सम्बन्ध पनि सुधार्न चाहँदैछ। 

र, उनलाई ‘वेलकम’ गर्न हतारिएका प्रधानमन्त्री ओलीको पनि प्रष्ट सन्देश हो, ‘उनी पनि भाजपासँग राजनीतिक साइनो प्रगाढ बनाउन चाहन्छन्।’

यहाँ रहँदा उनले ओलीलाई भेटे। नेकपाकै अर्का अध्यक्ष प्रचण्डलाई भेटेनन्। 

जब कि लामो समयदेखि नेकपाका यी दुई अध्यक्षबीच सम्बन्ध चिसिएको मात्रै छैन, कठ्याङ्ग्रिइसकेको छ।  

छिमेकी देशको सत्तारुढ पार्टीका शीर्ष नेता त्यसमा पनि विदेश विभाग प्रमुख नेपाल भ्रमणमा आउँदा कम्तिमा यहाँको सत्तारुढ पार्टी (विदेश विभाग प्रमुख) को समन्वय हुनुपर्ने त हो तर, नेकपा विदेश विभाग प्रमुख माधव नेपाललाई यसबारे थाहै भएन। 

चौथाइवालेले नेपालसँग त भेट गर्नै मानेनन्। माधव नेपालले पनि यसबारे ‘आपत्ति’ जनाएका छन्। 

यहीँनेर ओलीले दिएको अर्को संकेत के हो भने, भारतसँग ‘डिल’ गर्नका लागि उनको तर्फबाट पनि अर्को कोही छ। 

र, अर्को कुरा भारतीय मामिलामा अहिलेसम्म अग्रपंक्त्तिमा नदेखिएका विष्णु पौडेललाई ‘शो’ गराएर ओलीले देखाउन खोजे ‘विष्णु पौडेल पनि भारतसँगको समन्वयमै छन्।’

एउटा संयोग कस्तो पनि पर्‍यो भने, विष्णु पौडेललाई बालुवाटारमै ‘बर्थ डे’ केक खुवाइदिएको १० दिनपछि काठमाडौं आएका चौथाइवालेले भने, ‘विष्णु पौडेलजीको निमन्त्रणामा काठमाडौं आएको।’

राजनीतिकरूपमा सबैभन्दा पेचिलो कुरा त दुई अध्यक्षबीचको लडाइँमा अहिले माधव नेपाल प्रचण्ड मोर्चामा छन्। अघिल्लोपटक चिनियाँ रक्षामन्त्री नेपाल आउँदा पनि नेपाललाई भेटेका थिएनन्। 

यो बीचमा चौथाइवालेले प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्वसभामुख सुवास नेम्वाङ तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेटे। 

र, अन्तिममा जनता समाजवादी पार्टीका दुई अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई भेटे। जसपाकै संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई भने उनले भेटेनन्। 

अवस्था

नेपाल र भारतबीच सम्बन्धको एउटा विशिष्ट अवस्थामा यतिबेला भारतीय दल र सरकारी अधिकारीहरू श्रृङ्खलाबद्ध भइरहेको नेपाल भ्रमणको एउटा पात्र हुन् चौथाइवाले। 

यसअघि नै भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल सुटुक्क आएर प्रधानमन्त्री ओलीलाई भेटेर गए। गोयललाई प्रधानमन्त्रीले ‘मोदी’ (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी) का ‘दूत’का रूपमा अर्थ्याइदिए। 

त्यसपछि भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणे नेपाल आए। 

नरवणे उनै भारतीय सेना प्रमुख हुन् जसले नेपालको नयाँ नक्सालाई ‘कसैको उक्साहट’मा जारी भएको भन्ने विवादित अभिव्यक्ति दिएका थिए। 

जब कि सिमानाका रूपमा विवादित कालापानी–लिपुलेकको भूमिमा भारतले मोटर बाटो बनाएपछि नेपालले त्यो भूमिलाई आफ्नै नक्सामा समेटेर नयाँ नक्सा जारी गरेको थियो। 

यही विवादले नेपाल-भारतबीचको सम्बन्धमा अझै चिसोपना थपिदियो।

तर, सरकारी पक्षले भारतीय सैन्य प्रमुखको यो भ्रमणलाई ‘सैन्य कुटनीतिक परम्परा’का रूपमा अर्थ्याइदियो। 

त्यसलगत्तै दुवै देशका मन्त्रालयस्तरका बैठकहरू पनि भए। 

यो बीचमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका दुई अध्यक्षसँग भेटघाट गरिन्। 

त्यसपछि चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आए। 

एउटा गजबको संयोग त के देखियो भने भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गला नेपाल ‘घुमेर’ फर्किएको ४८ घन्टामै चिनियाँ रक्षामन्त्री काठमाडौं ओर्लिए। 

‘इन्डो–एसियन न्युज सर्भिस’का अनुसार नेपालका प्रमुख दलहरूसँग सम्बन्ध बलियो बनाउनु र अझै विस्तार गर्नु अहिले भारतीय जनता पार्टीको प्रमुख उद्देश्य र चाहना पनि हो। 

सँगै चौथाइवालेले दिन खोजेको अर्को सन्देश के पनि हो भने, ‘भाजपा सधैं नेपालको सत्तामा रहेको राजनीतिक दलसँग नजिक भएर काम गर्न चाहन्छ। किनकि, अरू कसैले काठमाडौंको राजनीतिक अवस्थामा चासो दिएको उसले सहन सक्दैन।’ 

यसअघि भाजपाले नेपाल मामलाका लागि पार्टी महासचिव राम माधवलाई प्रयोग गर्दै आएको थियो। तर, यसपालि भने सिधै विदेश विभाग प्रमुखलाई नै खटायो। 

नेपाल-भारत सम्बन्धमात्रै होइन। अहिले नेपाली राजनीति नै एउटा ‘विशिष्ट’ मोडमा छ। 

सत्तारुढ दल आफैंभित्र लडिरहेका बेला यतिबेला सडकमा ‘राजावादी’को आन्दोलनले देशका सडक तताइरहेको छ। देशभरका सडकमा ‘राजा आउm’ भनेर बोलाउनेहरूको भीड बढ्दै जान थालेको छ। माइतीघरमा दिनदिनैजसो राजा बोलाउनेहरूले ‘सिँहदरबार’ थर्काइरहेका छन्। 

‘नागरिक स्तर’बाटै उठेको भनिएको यो आन्दोलनलाई अहिले राप्रपाले ‘लिड’ गर्न खोजिरहेको छ। 

यद्यपि, चौथाइवालेले राप्रका कुनै पनि नेतालाई भेटेनन्। भारतीय जनता पार्टी पनि ‘हिन्दुत्व’मा आस्था राख्ने पार्टी हो। 

को हुन् चौथाइवाले? 

भारतीय सत्तारुढ पार्टी भारतीय जनताका पार्टीको एक शीर्ष नेतामात्रै होइन, चौथाइवाले पार्टीको विदेश विभाग प्रमुख पनि हुन्। 

उनकै निर्देशनमा २०१९ मा मोदी अमेरिका भ्रमणमा गएका बेला ‘हाउडी मोदी’ कार्यक्रम भएको थियो। ह्युस्टन सहरमा भएको यो कार्यक्रमले निकै चर्चा पायो। जहाँ हजारौं प्रवासी भारतीयको भीडमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी भएका थिए। 

भारतीय जनता पार्टीबाट सक्रिय राजनीतिमा लाग्नुअघि उनी औषधी कम्पनी टोरेन्ट कम्पनीमा थिए। पुणे विश्वविद्यालयबाट ‘माइक्रो बायोलोजी’ मा विद्यावारिधि गरेका उनी एक वैज्ञानिक पनि हुन्। २०१४ देखि भाजपाबाट सक्रिय राजनीतिमा आएका उनी यसअघि राष्ट्रिय स्वंयसेवक संघमा पनि सक्रिय थिए। 

नागपुरमा जन्मिएका उनी विद्यार्थीकालदेखि नै स्वंयसेवक संघमा आबद्ध थिए। राष्ट्रिय स्वंयसेवक संघ भारतीय जनता पार्टीको एक भ्रातृ संगठन हो। 

वैदेशिक मामलाका कतिपय निर्णयहरू मोदीका तर्फबाट उनले नै सार्वजनिक गरिदिन्छन्।

र, यो पनि

चिनियाँ सैन्य 'पदचाप' मा नेपाल कहाँ?

चिनियाँ रक्षामन्त्रीको ८ घण्टे भ्रमण : नेपाली खाँचोभन्दा ‘भारतीय चासो’ भारी


Leave a Reply

Your email address will not be published.