सजाउने माछा : लाखौं विदेशिन्छ, अब नेपालमै पाइन्छ

सजाउने माछा : लाखौं विदेशिन्छ, अब नेपालमै पाइन्छ

घर, कार्यालय, होटेल वा रेस्टुरेन्ट आजकल ‘अक्वारियम’ टल्किरहेको हुन्छ। अनि त्यसमा रंगीचंगी माछा राख्ने ‘सहरीया फेशन’ अहिले बढ्न थालेको छ। 

नेपालीका लागि ‘फेशन’ बन्दै जान थालेको यो ‘अर्नामेन्टल फिस’ का लागि भने करोडौं रुपैयाँ विदेशिन्छ। 

यसकै नाममा विदेशिने करोडौं रकम स्वेदशमै रोक्नका लागि यहाँका युवा ‘अर्नामेन्टल फिस’ को स्वदेशी उत्पादनमै जुटेका छन्। 

प्रदेश १ को धरानमा पहिलोपटक व्यवसायिक उत्पादन सुरु भएको छ। 

युवा व्यवसायी समुनकुमार श्रेष्ठले प्रदेशमै पहिलो पटक अर्नामेन्ट फिस ह्याचरीको स्थापना गरेका हुन्। 

एक वर्षअघि करिब ४५ लाख लगानीमा धरान–४ बसन्तटारमा स्थापना गरिएको ‘एभरेष्ट एक्वाफोनिक्स एण्ड फिस फार्म’ ले व्यवसायिक उत्पादन सुरु गरेको छ। 

अर्नामेन्टल फिसको शौखिन उनले बजारमा भनेजस्तो माछा नपाएपछि आफैंले व्यावसायिक उत्पादन थालेको बताए।

‘केही समय यसको सम्भाव्यता अध्ययनमा लाग्यौँ’, उनले भने, ‘पूर्वमा कतै नभएपछि राम्रो बजार हुने देखेर विभिन्न प्रजातीका माछा उत्पादन सुरु गरेका हौं।’ 

वार्षिक करोडौं रुपैयाँ विदेशिइरहँदा नेपालमा भने यसको माग बमोजिमको उत्पादन हुन नसकेको श्रेष्ठको अध्ययनले देखाएको छ। 

अर्नामेन्टल फिस आयात, सम्भाव्यताको बारेमा अनुसन्धान गरी जर्नल प्रकाशित गरेका मत्स्य विकास केन्द्र पोखराका प्रमुख बरिष्ठ माछा वैज्ञानिक डाक्टर एकवाल हुसेनले नेपालमा पहिलोपटक व्यावसायिक रुपले पोखराबाट अर्नामेन्टल फिसको ह्याचरी सुरु गरिएको जानकारी दिए। 

उनले सन् २००९ देखि २०१७ सम्म नेपालमा अर्नामेन्टल फिस आयातको अवस्था केलाएका छन्। 

उनको अध्ययन तथ्यांक अनुसार २००९ मा नेपालमा ३ सय १८ मेट्रिक टन आयात भएको थियो भने, २०१७ मा यसको आयात परिमाण बढेर १ हजार २ सय ३३ मेट्रिक टन पुुगेको थियो। यसको माग हरेक वर्ष बढिरहेको उनको भनाई छ।

हाल नेपालभरका शहरमा करिब २७ जातका अर्नामेन्टल फिस पाइन्छन्। यस्ता सजावटका माछा भारतबाट ८५ प्रतिशत आयात हुन्छ भने बाँकी चीन, थाइल्याण्डलगायतका देशबाट आयात हुने गरेको छ। 

नेपाली हावापानीमा सजावटका माछा राम्रोसँग फस्टाउने वैज्ञानिक हुसेनले बताए। 

अहिले पोखरामा उनले विदेशी माछालाई स्थानीयकरण गर्दा कति लामो समयसम्म बचाउन सकिन्छ? भन्नेबारे अध्ययन गरिरहेका छन्। 

‘यहीँका लोकल माछाजस्तै स्थानीयकरण गरियो भने लामो समयसम्म बच्ने र बढी मुनाफा लिन सकिन्छ’, उनले भने, ‘यहीँ उत्पादन गरेर नेपालको माग पूरा गर्न सकिन्छ भने किन विदेशी माछा आयात गर्नु?’

नेपाली बजारसमेत पर्याप्त भएको हुँदा यसको व्यावसायिक फर्म बृद्धि गर्न प्रोत्साहन गर्दै नेपाली पैसा विदेशिनबाट रोक्नुपर्ने हुुसेनको भनाई छ। 

उनका अनुसार नेपाली माछापालक किसानलाई यो माछा पाल्न प्राविधिक ज्ञान दिई राम्रो बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्छ। 

सजावटमा माछा राख्ने प्रचलन बढिरहेको हुँदा नेपाली बजारको माग बढिरहेको छ। 

हाल धरानमा सन्चालिन फार्मले धरानको माग पूरा गरिरहेको छ भने काठमाडाैंसहित भारतका केही स्थानमा निर्यात भइरहेको सन्चालक श्रेष्ठले बताए।


Leave a Reply

Your email address will not be published.