नेकपा स्थायी कमिटी बैठक बस्दै

नेकपा स्थायी कमिटी बैठक बस्दै

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक आज बस्दै छ।

यसअघि मंसिर २१ गते पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठक आज भने प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।

अपरान्ह १ बजे बोलाइएको बैठकमा नेकपा केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएकोले शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको एक स्थायी कमिटी सदस्यले बताए।

शोक प्रस्ताव पारित गरेर बैठक स्थगित गर्ने कार्यसूची रहेको उनको भनाइ छ। 

शोक प्रस्ताव पारित भइसकेपछि नियमित एजेन्डामाथि छलफल गर्न स्थायी कमिटीको अर्को बैठकको मिति तोकिने उनले बताए।

लामाको गत २४ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आरोप-प्रत्यारोप सुरू भएपछि नेकपा विवाद सचिवालय हुँदै स्थायी कमिटीसम्म पुगेको छ।

मंसिर २१ गते स्थायी कमिटी बैठकमा अनुपस्थित भएका प्रधानमन्त्री ओलीले पत्र पठाएर कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावमाथि छलफल गर्न नसकिने अडान दोहोर्‍याएका थिए।

प्रचण्डको प्रस्तावलाई ‘अभियोगपत्र’ भन्दै आइरहेका ओलीले छलफल नगर्ने अडान लिएका छन्।


Leave a Reply

Your email address will not be published.