प्रदर्शन भव्य बनाउन देउवाको अपिल, ‘भ्रष्टाचार, कुशासन र अधिनायकवादमा फस्यो सरकार’

प्रदर्शन भव्य बनाउन देउवाको अपिल, ‘भ्रष्टाचार, कुशासन र अधिनायकवादमा फस्यो सरकार’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति शेरबहादुर देउवाले सरकारविरुद्ध सोमबार आह्वान गरिएको विरोध प्रदर्शनलाई भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन अपिल गरेका छन्।

नेपाली कांग्रेसले सडकदेखि संसदसम्म सरकारलाई तीव्र दबाब दिन बाध्य भएको र त्यसकै सुरूवात सोमबारको सांकेतिक प्रदर्शन रहेको देउवाले बताएका छन्।

भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गरेको सरकारका कारण जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको उनको भनाइ छ।

‘स्वास्थ साम्रगीमासमेत भ्रष्टाचार भएको घटनाभन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ? शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकमार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ? महिला हिंसा र बलात्कार व्यापक बृद्धि हुँदा विकसित देशमा पनि यस्तै जवाफ भन्दा गैरजिम्मेवार के हुनसक्छ?,’ प्रश्न गर्दै देउवाले भनेका छन्, ‘चौतर्फी संकटबाट मुलुकलाई निकासको मार्गमा लग्न गम्भीर भएर कार्य गर्नुपर्ने सरकार सत्ताको द्वन्द्वमा जकडिएको छ।’

कोरोनाका कारण नागरिकले भोगिरहेको पीडा र भावनालाई आत्मसात गर्न सरकार असफल भएको भन्दै देउवाले नेपाली जनताको हरेक क्षेत्र, वर्ग एवं समुदायको पीडा र भावनालाई कांग्रेस थप प्रखर ढंगले नेतृत्व गर्ने दाबी गरे।

‘मुलुकलाई हरेक चुनौतीको घडीमा नेपाली कांग्रेसले नेतृत्व र निकास दिएको छ,’ अपीलमा देउवाले भनेका छन्, ‘भोलिको सांकेतिक प्रदर्शनबाट थप शक्ति हासिल गर्दै आगामी संसदमा नेपाली कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुनेछ।’


Leave a Reply

Your email address will not be published.