कोटेश्वरको जाम हटाउने मनोहरा करिडोर तीन साताभित्र सञ्चालनमा ल्याइने

कोटेश्वरको जाम हटाउने मनोहरा करिडोर तीन साताभित्र सञ्चालनमा ल्याइने

भक्तपुरको लोकन्थलीबाट जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजामलाई कम गर्ने लक्ष्यका साथ सुरु भएर एक वर्षदेखि रोकिएको मनोहरा खोला करिडोर निर्माण पुनः सुरु भएको छ। 

पेप्सीकोला–सानोठिमी सडकखण्डमा रहेको मनोहराखोला पुलबाट अरनिको राजमार्गअन्तर्गतको जडीबुटी पुलसम्म भक्तपुरतर्फको करिडोर निर्माण सुरु भएको हो। 

संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले गत वर्षदेखि सुरु गरेको  ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’ अभियानअन्तर्गत जडीबुटी–कोटेश्वरको सडकजामलाई कम गर्ने विकल्पका रूपमा मनोहरा करिडोर निर्माण सुरु भएलगत्तै काम रोकिए पनि अहिले उनकै पहलमा चार दिनयता पुनः मनोहरा करिडोर निर्माणको भक्तपुरतर्फको बाँकी काम सुरु भएको हो।

सांसद बस्नेतले भक्तपुरमा विकासका ठूला आयोजना रोकिएको जानकारी गराएलगत्तै भक्तपुरका नयाँ प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रोकिएका विकासका काम अगाडि बढाउन चासो दिएपछि करिडोर निर्माण अगाडि बढेको बस्नेतका स्वकीय सचिव दिनेश थापाले जानकारी दिए।

विसं २०६३ मा नै स्वीकृत भएको मनोहरा जग्गा एकीकरण आयोजनाअन्तर्गत नै करिडोरसमेत निर्माण गर्ने तय भए पनि सुरु हुन सकेको थिएन।

मनोहरा करिडोरमा ३० मिटर खोलाको बहाव रहने, ११ मिटर सडक बन्ने र नौ मिटरको फुटपाथसहितको हरियाली उद्यान रहने गरी निर्माण सुरु भएको बताउँदै बस्नेतले तीन साताभित्र करिडोरको ट्रयाक खोलेर सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाइने बताए।

जडीबुटीबाट आँखा अस्पताल हुँदै भक्तपुर, काठमाडौं र ललितपुर जोड्ने हनुमन्तेखोलाको पुलसम्म करिडोर निर्माण सम्पन्न भइसकेको छ। अब पेप्सीकोला पुलबाट जडीबुटी पुलसम्मको मनोहरा करिडोर निर्माण सम्पन्न भएसँगै जडीबुटी–कोटेश्वरको जाम घट्ने विश्वास लिइएको छ।

यो करिडोर निर्माण सम्पन्नसँगै प्रहरीको समन्वयमा भक्तपुरबाट ललितपुरतर्फ जाने सवारी साधनलाई लोकन्थली–जडीबुटी पुलबाट आँखा अस्पताल हुँदै बालकुमारी पठाइने र गौशाला, चावहिल जाने सवारी साधनलाई मनोहरा करिडोरबाट पठाउने गरी व्यवस्थापन भैरहेको छ।


Leave a Reply

Your email address will not be published.