सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सहभागी नहुँदा संवैधानिक परिषदको बैठक प्रभावित

सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सहभागी नहुँदा संवैधानिक परिषदको बैठक प्रभावित

संवैधानिक परिषदको बैठक स्थगित भएको छ।

सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि बैठक स्थगित भएको हो।

लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायहरूमा पदपूर्ति गर्न संवैधानिक परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजे बैठक बोलाएका थिए।

तर, गणपुरक संख्या नपुगेपछि बैठक प्रभावित भएको छ।

बैठकका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमस्लिनामात्र उपस्थित भएका थिए।

६ जना सदस्य रहेको परिषद बैठकमा अध्यक्षसहित पाँचजनाको उपस्थिति अनिवार्य हुनुपर्दछ। संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थित अनिवार्य हुनुपर्ने प्रावधान छ।

उपसभामुख नियुक्त हुन नसकेका कारण एकजना अनुपस्थित भएको खण्डमा बैठक प्रभावित हुनसक्ने अवस्था छ।

सभापति देउवाले बैठकमा सहभागि हुन नसक्ने सन्देश शनिबार नै पठाएका थिए। सोमबार सरकारविरुद्ध विरोध प्रदर्शनको कार्यक्रम तय भएकोले त्यसअघि बैठकमा सहभागी हुन नसक्ने सन्देश उनले प्रधानमन्त्रीलाई पठाएका थिए।

‘सभापतिजी सोमबारको बैठकमा सहभागी हुन नसक्ने सन्देश हामीले हिजो नै पठाइसकेका थियौँ,’ देउवाका स्वकीय सचिव भानु देउवाले आयोमेलसँग भने।

यता, संसद सचिवालयमा पूर्वनिर्धारित कार्यक्रममा व्यस्त रहेकोले परिषदको बैठकमा सभामुख उपस्थित हुन नसकेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताएका छन्।

संघीय संसद सचिवालयको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक परेकोले सभामुख संवैधानिक परिषद बैठकमा सहभागी नभएको न्यौपानेले जानकारी दिए।

‘१४औं संघीय संसद सेवा दिवस आज मनाइँदै छ, यसका लागि बिहान साढे ८ बजे कार्यक्रम पूर्वनिर्धारित थियो,’ न्यौपानेले आयोमेलसँग भने,‘साताव्यापी कार्यक्रम मनाइँदै छ। सभामुख यतै व्यस्त हुनुभयो। त्यसैले परिषदको बैठकमा पुग्न सक्नु भएन्।’

संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष तथा प्रधानन्यायाधीश, प्रतिनिधिसभाक सभामुख, राष्ट्रियसभा अध्यक्ष, विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न निकायमा ४५ पद रिक्त रिक्त छ। रिक्त रहेका निकायमा सरकारले पदपूर्ति गर्न नसक्दा कामकारबाहीसमेत प्रभावित हुँदै आइरहेको छ।


Leave a Reply

Your email address will not be published.

थप समाचार