‘जनताको डर छैन सरकारलाई…’ 

‘जनताको डर छैन सरकारलाई…’ 

नेपालमा कोरोना संक्रमण संकट अझै गहिरो बन्दै छ। तर, परीक्षण भने घट्दो छ।

देशमा अझै ११ हजार ६ सय ७३ सक्रिय संक्रमित छन्। सरकारी तथ्याङ्कले संक्रमण दर घटिरहेको देखाए पनि मृत्यु दर भने बढ्दो छ।

शनिबारमात्रै संक्रमणबाट थप १५ जनाले ज्यान गुमाए। योसँगै नेपालमा संक्रमणकै कारण हालसम्म १ हजार ६ सय ८९ जनाले ज्यान गुमाइसकेका छन्।

आइतबार यो समाचार तयार पार्दासम्म नेपालमा १८ लाख २५ हजार ८ सय ६० पिसिआर परीक्षण गर्दा २ लाख ४७ हजार ५ सय ९३ जनामा संक्रमण पुष्टि भइसकेको छ।

र, २ लाख ३४ हजार २ सय ३१ जनाले संक्रमण जितेका छन्।

यसरी देशमा कोरोनाको भयावह अवस्था हुँदा पनि सरकारको कदम भने सुरुवाती दिनबाट नै प्रभावकारी हुन सकेन। 

फाइजरको कोरोना भ्याक्सिन सुरक्षित ठानिएर अमेरिकालगायत थुप्रै देशले प्रयोगका लागि अनुमति दिइसकेका छन्। तर, नेपालमा सरकारले खोप कहिले भित्र्याउँछ भन्ने कुनै टुंगो नै छैन।

यसले पहिलेजस्तै अहिले पनि सरकारी उदासिनता उस्तै रहेकाे पुष्टि गर्छ। जसले गर्दा जनतामा आक्रोस बढ्दो छ।

जनतामा सरकारप्रतिको आक्रोस बढ्दै गइरहेको सन्दर्भमा आयोमेलले 'कोरोना महामारीमा सरकार किन गम्भीर नभएको होला?' भनेर एउटा सर्वेक्षण गरेको थियो।

पाठकमाझ गरिएको यो सर्वेक्षणमा सहभागी धेरैजसोले 'जनताको डर नभएर सरकार गम्भीर नभएको' ठानेका छन्।

सर्वेक्षणमा सहभागी करिब ६२.५ प्रतिशतले ‘जनताको डर नभएर’ भन्ने मत दिएका छन्। त्यस्तै २५ प्रतिशत सहभागीले 'जनताभन्दा पार्टी महत्वपूर्ण लागेर’, अनि १२.५ प्रतिशतले ‘प्रतिपक्षको भूमिका कमजोर भएर’ भन्ने मत व्यक्त गरेका छन्।

त्यस्तै 'जे सुकै होस्' भन्ने विकल्पमा भने कुनै मत प्राप्त भएको छैन।


Leave a Reply

Your email address will not be published.