‘ठूलो छ सरकार, अटेन किसान’

‘ठूलो छ सरकार, अटेन किसान’

‘घर छ टाढा, छैन भाडा।’
‘सानो छ खेत सानो छ बारी सानै छ जहान, सानो छ देश ठूलो छ सरकार अटेन किसान।’

मंसिरको सिरेटोमा तराईबाट काठमाडौं हानिएका उखु किसानले यी र यस्तैै पीडा लेखेको पर्चा टासेका छन्। 

एक वर्ष अघि सरकारी आश्वासनको उधारो पोको लिएर तराई झरेका उनीहरू फेरि सिंहदरबार नजिकै माइतीघर मण्डला पुगेका छन्।

सरकारसहितसँग सम्झाैताकाे एक वर्ष वित्यो, चिनी उद्योगीले टेरेनन्। र, किसान फेरि उही माग दोहोर्‍याएर संघीय राजधानीसामु पीडा पोख्न आएका छन्।

माग हो, चिनी उद्योगीलाई उखु बचे बापतको बक्यौता रकम चाँडो  चाहियो, सरकारले दिलाइदेओस्।

कस्तो अचम्म! 
नगदेबाली भनिने उखुको पैसा कहिले आउँछ यकीनै छैन, उचित मूल्य त परेको कुरा। 

उद्योगीले सरकारी निर्णय-निर्देशन रद्दीको टोकरीमा फ्याँक्दा उद्योग, वाणिज्य तथा आप‍ूर्तिमन्त्री लेखराज भट्ट भन्छन्- वैदेशिक लगानी नभित्रिएला भन्ने डरले कारबाही गरेनौं’ (कात्तिक २०, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति)

बस् किसानलाई तत्काल चाहिएको छ, उखुको बक्यौता बापतको ९० करोड रुपैयाँ।


खुइलिएको तालु अनि चाउरिएका गाला।

बुढो शरीर, झरेका दाँत।

दोहोर्‍ययाएर सर्लाहीबाट काठमाडौं हानिए राजेन्द्र मण्डल।

चिसो र बुढो शरीरको कुनै परवाह छैन उनलाई।

मतलब छ त केवल पसिना बगाएर उब्जाएर बेचेको नगदेबालीको पैसाको।

नहोस पनि कसरी?

त्यही उखुखेतीबाट आएको पैसाले चुल्हो बल्छ, परिवारका १५ जनाको मुखमा गास जान्छ।

गोडैटा नगरपालिकाका स्थानीय मण्डल भन्छन्, ‘बरू जाडोमा कठ्याङ्ग्रिएर मर्छु, पैसा नदिए घर जाँदै जान्न।’

उनले मिल सञ्चालकलाई उखु बेचेबापतको तीन लाख बक्यौता रकम लिन बाँकी छ। ‘हामी किसानका लागि ३ लाख धेरै ठूलो पैसा हो,’ मण्डल भन्छन्, ‘घरमा खानलाई अन्न छैन, रगत-पसिनाबापतको मोल माग्न आएको हुँ। नलिई कसरी जानु।’

पैसा नलिई घर फर्किन पनि त सक्दैनन् उनी। घरपरिवारलाई पैसा ल्याउन काठमाडौं जान्छु भनेर आएका हुन्।

सर्लाहीबाट काठमाडौं आउन ८ सय गाडी भाडा लाग्छ। उनीसँग भाडा तिर्नेसम्म पैसा थिएन। छिमेकीसँग ८ सय भाडा जोहो गरेर आएका हुन्।

उमेरले ७४ कटेका मण्डल रहरले राजधानी आएका होइनन्।  उनलाई बाध्यताले काठमाडौं डोर्‍यायो।

उनले जति प्रयास गर्दा पनि चिनी मिल सञ्चालनबाट पसिनाको मूल्य पाएका छैनन्।

बरू उल्टै हप्कीदप्की पाउँछन्।

कसले बुझिदेओस् मण्डलको पीडा। 

गौशलास्थित धर्मशालामा बसिरहेका उनी भन्छन्, ‘छिमेकीसँग मागेको पैसा भाडामै सकियो, अब काठमाडौंमा कसरी बाँच्ने?’ खान-बस्नको व्यवस्थाको आशामा रहेका मण्डल दुखेसो पोख्छन्- अब रोडको बसाई हुन्छ।’

उनलाई घरखर्चको मात्र पीर छैन, बैंकको ऋण कसरी चुक्ता गर्ने ? पीरको अर्काे पहाड छ। 

उखु खेतीका लागि बैंकबाट ७ लाख ऋण लिएका थिए। समयमै पैसा तिर्न नसक्दा बैंकले १ बिघा जमिन लिलाम गर्‍यो। ‘गरिखाने खेत पनि बैंकले लग्यो,’ निन्याउरो अनुहार लगाउँदै उनले भने, ‘उखु लगाउदा नगदै पैसा आउँछ सोचेको थिएँ। तर, होइन रैछ।’

माइतीघर मण्डलामा भेटिएका उखु किसानको एउटै स्वर छ- उद्योग चलाउनेले त बेइमानी गरे-गरे, सरकारले समेत ठग्यो।’  

यस्तै पीडा छ उखु किसान दीपेन्द्र यादवको।

सर्लाही रामनगर गाउँपालिका-१० का यादवले आफूसँग भएको खेतमा उखु लगाए।

उखु बेचेर घरखर्च चलाउने धोकोमा त्यतिखेर निराशा छायो, जब चिनी उद्योगले पैसै दिएन।

चिनी उद्योगलाई उखु बेचेको तीन वर्ष पुगिसक्यो, ६ लाख रुपैयाँ बक्यौत छ। तर, पैसा आउँछ- आउँदैन थाहा छैन। 

उखु किसानले कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल, उद्योगमन्त्री भट्ट समक्ष मात्र हारगुहार गरेनन्। संसदीय समितिमा पनि धाए। 

विपन्नको भोटबाट चुनाव जितेका सांसदहरूको थलो, संसदको अधिवेशन त चलेकै छैन। ‘मिनी’ संसद भनिने संसदीय समितिका बैठक आक्कलझुक्कल बस्छन्। तर, भूइँमान्छेका मुद्दाले ठाउँ पाउँदैन। संसदीय समितिले सरकारलाई निर्देशन नै दिइहाले पनि कार्यान्वयन हुँदैन।

मन्त्री भट्टले अर्काे भाका सारेका छन्- उखु किसानको समस्या माघको पहिलो साताससम्म समाधान हुन्छ। २०७६ पुस २५ भित्र उखु किसानको बक्यौता चुक्ता गर्ने यसअघिको सहमतिमा मन्त्रालयका अधिकारी मौन छन्।

कृषि मन्त्री भुसाल त उखु किसानका समस्या देख्दैनन्, बरू उद्योगमन्त्रालयतिर बाटो देखाइदिन्छन्।

सत्तामा विराजमानलाई के थाहा दीपेन्द्र १८ जनाको परिवारको पेट भर्ने बाटो नै उखु खेती हो। ‘जिन्दगीमा काठमाडाैं देखेको थिएन्, उखु बेचेको पैसाका लागि दुईपटक आएँ,’ उनले भने।

७३ सालको ११ हजार, ७४ को १ लाख ५० हजार र ७५ को ४ लाख ३९ हजार गरी ६ लाख रुपैयाँ नपाएको उनले दुखेसो छ।

सरकारले गत बिहीबार प्रतिक्विन्टल उखुको मूल्य ५ सय ३३ रुपैयाँ ३३ पैसा तोकेको छ। गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३४ रुपैयाँ ५६ पैसा तोकेको थियो।

उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राजेश मिश्रा चिनी उद्योगले किसानलाई ठग्ने गरेको र सरकार रमिते बन्ने गरेको आरोप लगाए। उनी भुक्तानी नपाउदासम्म आन्दोलन जारी रहने बताउँछन्।

सर्लाहीका करिब ४० किसानले उद्योगीलाई उखु बेचे बापतको बक्यौता नपाएपछि आइतबारदेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन्। ‘उखु किसानको श्रमको शोषण भएको छ,’ मिश्रा भन्छन्, ‘गरीब किसानले कति दुःख पाउनु कति चोट सहनु।’

सम्बन्धित समाचार : उखु किसानका पीडा : भुक्तानी नपाएपछि पुनः माइतीघरको सहारा


Leave a Reply

Your email address will not be published.

थप समाचार