प्रदेश २ लोकसेवा आयोगले पहिलोपटक खोलेको विज्ञापन विवादमा

प्रदेश २ लोकसेवा आयोगले पहिलोपटक खोलेको विज्ञापन विवादमा

प्रदेश २ लोकसेवा आयोगले कर्मचारी भर्ना खोलेको विज्ञापन विवादमा परेको छ।

नेपाल मधेशी निजामती कर्मचारी मञ्चले आयोगको विज्ञापनप्रति आपत्ति जनाएपछि प्रदेश २ लोकसेवा आयोगले पहिलोपटक खोलेको विज्ञापन विवादमा परेको हो।

आयोगले हचुवाको भरमा त्रुटिपूर्ण हिसाबले विज्ञापन आह्वान गरेको मञ्चले दाबी गरेको छ।

प्रदेश मन्त्रिपरिषदको निर्णयअनुसार प्रदेश लोकसेवा आयोगले प्राविधिक सातौं तहका लागि इन्जिनियरीङ्ग सेवातर्फ २४ सिटका लागि दुई दिनअघि दरखास्त आह्वान गरेको छ।

प्रदेशको निजामती सेवा ऐन आइनसकेको अवस्थामा विद्यमान निजामति सेवा ऐन, २०४९ र नियमावली २०५१ त्था समायोजन ऐन, २०७५ ले गरेको व्यवस्थाविपरित विज्ञापन निकालिएको मञ्चले बताएको छ।

प्रदेश सरकारले गरेको विज्ञापनमा बढुवासमेतको पद खुलाइ कार्यतालिका बनाएर पुनः विज्ञापन गर्न माग गर्दै मञ्चले आइतबार प्रदेश लोकसेवा अध्यक्षलाई ज्ञापन पत्रसमेत बुझाएको छ।

निजामति सेवाका कुनैपनि सेवा, समूह र पदको विज्ञापन हुँदा कानुनतः परिभाषित खुल्ला तथा बढुवाको विज्ञापन साथै हुनेगरेपनि प्रदेश सरकारले निकालेको विज्ञापनमा बढुवालाई नजरअन्दाज गरेकोले त्रुटिपूर्ण रहेको मञ्चका महासचिव बेचनकुमार महतोले बताएका छन्।

साथै सातौँ तहलाई अधिकृतको ‘इन्ट्रीप्वाइन्ट’ मानेर विज्ञापन गर्नुपनि त्रुटिपूर्ण रहेको उनको भनाइ छ।

‘संघीयता कार्यान्वयन पश्चात केन्द्रीय लोकसेवा आयोगले स्थानीय तहका लागि केही वर्षअघि गरेको विज्ञापनमा अधिकृत छैठौँ तहलाई ‘इन्ट्रीप्वाइन्ट’ मानेर विज्ञापन गरेको थियो। तर, प्रदेश लोकसेवा अयोगले सातौँ तहलाई अधिकृत इन्ट्रीप्वाइन्टको रुपमा विज्ञापन गर्नुको आधार के हो?,’ महतोले प्रश्न गरे।

आयोगले २०७७/०६/१२ को प्रदेश मन्त्रिस्तरीय निर्णयअनुसार राजपत्राङ्कित तृतीय श्रेणी वा सातौँ तह नेपाल इन्जिनियरिङ्ग सेवा तर्फका प्राविधिक कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।

मन्त्रिपरिषदको बैठकले लोकसेवा आयोगलाई प्राविधिक कर्मचारीहरु भर्ना गर्न स्वीकृति दिएपछि स्थायी दरबन्दीका लागि खुला, महिला, आदिवासी जनजाति, दलित, महिलासहित विभिन्न समूह गरी २४ जनाका लागि आयोगले मंसिर २५ गते दरखास्त आह्वान खोलेको छ। 

प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले माग गरे अनुसार कर्मचारी भर्ना दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ।


Leave a Reply

Your email address will not be published.