नेकपा विवाद जिल्ला तहसम्म: ओलीको गृहनगरमा प्रचण्ड पक्षीय भेला

नेकपा विवाद जिल्ला तहसम्म: ओलीको गृहनगरमा प्रचण्ड पक्षीय भेला

सत्तासीन नेकपामा विवाद  सतहमा छताछुल्ल भएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा उनी इतर भेला भएको छ।

पार्टीको आन्तरिक बहसलाई घनिभूत  र पार्टी  एकता मजबुत बनाउन नेतृत्वलाई दबाब दिन भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षीय भेला आइतबार भएको हो।

अनेरास्ववियु प्रदेश १ को ब्यानरमा भएको भेलामा नेताहरूले ओलीप्रति लक्षित गर्दै पार्टीमा व्यक्तिवाद हाबी भएको दाबी गरेका थिए।

शनिबार मोरङको सुन्दरहरैंचा नगरपालिकाको गछियामा  नेकपाका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाले अध्यक्ष ओली पक्षीय युवाको भेला सम्पन्न गरेपछि  दमकमा ओली इतर समूहको भेला आयोजना गरिएको हो।
यसले दुवै पक्ष आफ्नो शक्ति प्रदर्शनमा ओर्लेको देखिन्छ।
 
पार्टी केन्द्रमा शीर्ष नेताहरूबीच पार्टी सञ्चालनमा विधि, प्रक्रियालाई लिएर बहस चलिरहेका बेला तल्लो तहसम्म गुटगत भेला आयोजना गर्ने क्रम नेकपामा जारी छ। दमक भेला त्यसकै शृङ्खला हो।

नेतृत्वमाथि दवाव सिर्जना गर्न भन्दै ओलीको गृहनगर दमक बहुमुखी क्याम्पसमा भेला भएर उनी इतर आफ्नो मोर्चा दह्रो भएको सन्देश दिए।

भेलालाई  प्रदेश १ का आर्थिक मामिलामन्त्री इन्द्र आङबो, प्रदेश सांसद झलकसिंह दर्लामी,अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङ, विद्यार्थी नेताहरू सुदेश पराजुली, वसिम आलम लगायतले सम्बोधन गरेका थिए। 

उनीहरूले अध्यक्ष ओलीले पार्टीलाई विधि र प्रक्रियाबाट बिमुख गराएको दाबी गर्दै पार्टीमा  स्वेच्छाचारी  प्रवृत्ति लादेको  जिकिर गरे।

कमिटीगत पद्धति र विधि विपरीत आफूहरू जान नसक्ने अड्डी कसेका उनीहरूले सत्तामा सुण्डमुसुण्ड र भजन मण्डलीको जमात रहेको ठोकुवा गरे । 

प्रदेश १ का विभिन्न जिल्लाबाट सहभागीहरू शनिबारदेखि नै दमक आएका थिए। १ हजार भन्दाबढीको सहभागिता रहेको भेलामा  अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेता कार्यकर्ता थिए।    

झापा अनेरास्ववियुका दुई छुट्टाछुट्टै कमिटी छन्। एउटाको नेतृत्व समर्पण खतिवडा र अर्काको नेतृत्व अनिल सुवेदीले गरिरहेका छन्। खतिवडा ओली र सुवेदी प्रचण्ड निकट हुन्।


Leave a Reply

Your email address will not be published.