यसरी गलाउँदो रहेछ कोरोनाले!

यसरी गलाउँदो रहेछ कोरोनाले!

कोरोना के हो र? ‘समाजमा विकृति पैmलाउने एक हौवामात्र हो। यो केही होइन। डर–त्रास फिजाउने एक चाल हो’ भन्ने मान्यता मेरो थियो। ‘अरूलाई पर्दा कुरो आफूलाई पर्दा ज्वरो’ भन्ने उखान मैमाथि चरितार्थ हुनपुग्यो। कोरोनालाई जति हलुका लिएको थिएँ, त्यो सोह्रै आना गलत रहेछ। जब कोरोनाले छोयो तब थाहा पाएँ– कोरोना साँच्चै के हो भनेर!

हजारौं होइन, लाखौं सतर्कता र उच्च सावधानी अपनाउँदा अपनाउँदै कोरोना भाइरस संक्रमित भएछु। सुरुमा विश्वासै लागेन। तिहानर नजिकिँदो थियो। घर सफाइमा लागियो। धुलोले रुघा लाग्न सुरु भएको अनुमान गरेँ। तर, एक्कासि ढाड दुख्न थाल्यो। फन्फन्ती घुमाउने गरी रिँगटा लाग्यो। केही बोल्नै सकिएन, खान मन लागेन।  हनहन्ती ज्वरो बढ्दै आयो। दुई–चारओटा सिरक खाप्दा पनि जिउ काम्न छाडेन। जेनतेन रात कटाएँ। बिहान उठ्नै नसक्ने स्थितिमा पुगेँ। 
 
कोरोना परीक्षण गर्न केएमसी अस्पताल दुवाकोट गएँ। त्यसबेला मनमा अनेक कुरा उठे। परीक्षण गराउनेको पञ्जा सबैलाई त्यही नै प्रयोग गर्दै गरेको पटक्कै चित्त बुझेन। टेबुल, कुर्सी सफा गर्न हामीलाई लगाउने तर आपूm बसेको ठाउँमा सफा नगरिएको देख्दा अनौठो लाग्यो। स–साना जिज्ञासामा उत्तर पाउन गाह्रो भएको पाएँ। एक त बोल्न मन थिएन, नबोली पनि भएन, त्यसमाथि उत्तर नआउँदाको तीतो अनुभव पाइयो। 

घरमा सबै चिन्तित थिए। भोलिपल्ट बिहानै साढे ८ बजे अस्पताल पुगेँ। रिपोर्ट हेर्दा झसङ्ग भएँ। सधै सकारात्मक सोच्ने म आज नकारात्मक नतिजाको आासामा थिएँ। तर, मलाई कोरोना पोजिटिभ देखियो। केहीबेर बोल्नै सकिनँ। के गर्ने? के नगर्ने? मनमा अनेक कुरा चल्न थाल्यो। डाक्टरसँग भेटेँे। अघिपछि खुलेर कुरा गर्ने मेरो बानी यसपटक त्यस्तो भएन। आपूmसँग सबैजना डराइरहेको जस्तो भान भयो। केही दुरीमा बसेर पर्चामा ओखतीका नामसँगै पालना गर्नुपर्ने विधिबारे जानकारी दिँदै डाक्टरले रिपोर्ट खतरनाक नभएको बताए।

डाक्टर के के भने, मैले के बुझेँ, ठम्याउनै सकिनँ। जब डाक्टरले पर्ची टेबुलमा राखिदिए तब पो झसङ्ग भएछु। पर्ची टिपेँ। औषधी किनेर घर फर्किएँ। घरमा तनाव सुरु भयो। छोरीले मलाई अलग्गै कोठा मिलाइदिइन्। सामान व्यवस्था गरियो। अबको १५ दिन यही सानो कोठा नै मेरो संसार भयो। 

सुरुमा तातोपानी बाटामा खन्याएर रुमालले छोपी बाफ लिँदै आएको थिएँ, तर बाफ मेसिनले लिन थालेपछि सहज भयो। मुटुको गति नाप्न र अक्सिजन लेभल थाहा पाउन ‘अक्सिमिटर’ थियो। हामीलाई आवश्यक अक्सिजन लेभल ९० भन्दा माथि १०० भन्दा तल हुनुपर्ने रहेछ। प्रत्येक पल्ट प्रयोग गर्दा ९३–९४ र मुटुको चाल ८४–८५ भएको पाएँ। यो सामान्य भएकाले चिन्तित हुनुनपर्ने भयो।  बुझियो। यदि अक्सिमिटरले १०० भन्दा माथि देखायो भने घोप्टो परेर बिनासिरानी सुत्नुपर्ने रहेछ। परिवारले अक्सिमिटर ४ हजनार २ सय र बाफ मेसिन ७ सय ५० रुपैयाँमा किनेको रहेछ। कोरोनासँग लड्ने यकिन दबाइ नभए पनि रोग प्रतिरोधात्मक क्षमताका लागि ‘फोर्टिप्लेक्स’, ‘एसभिट’, ‘जिंक’ र ‘प्यारासिटामोल’ जस्ता औषधी दिइएको थियो। 

एक दशकदेखि नियमित रक्तचापको औषधी सेवन गरिरहेको थिएँ। त्यसलाई पनि निरन्तरता दिएँ। नियमित तातोपानीको बाफ लिने, कुल्ला गर्ने गर्दै गएँ। विस्तारै ज्वरो सामान्य अवस्थामा फर्किन थाल्यो। रुघाखोकी ठिक हुँदै आयो। तर, दुई दिनपछि ढाड दुख्न थाल्यो। सुत्न–उठ्न गाह्रौ हँुदै आयो। कसलाई सोध्ने, के गर्ने, कसो गर्ने ठम्याउनै सकिनँ। पछि, ग्यास्ट्रिकले हो कि भन्ने अनुमान गरेर औषधी खाएपछि खाएँ। पुनः नियमित बाफ लिने, औषधी लिने, स्वस्थ खानाबाट सुधार भयो। 

मैले थाहा पाएसम्म आमा स्वर्गारोहण भएको वर्षबाहेक दसैं–तिहारमा निधार खाली भएको थाहा छैन। तर, यसपालि कोरोना संक्रमणका कारण भाइटिकामा निधार खाली भयो। दिदीको हातको टिका लगाउन पाइनँ। असाध्यै नरमाइलो लाग्यो। छोराछोरीको पुजाआजा, टिकाटालो भइरहे पनि म एक्लै कोठाभित्र बसेर सुन्नेबाहेक अरू केही गर्न सकिनँ। घरमा खुसी, उमंग हुनुपर्नेमा मेरो कमीले सोचेजति भएन। एक्लै कोठामा बस्दा कतिखेर सिरानी भिजेछ पत्तै भएन। घरमा झिलिमिली बत्ती बालिएन। एक मनले चाहिँ, बरु तिहारपछि कोरोना लागेको भए पनि चाडबाड त मनाउन पाउँथे जस्तो लाग्यो।   

पहिला कोरोनाबारे जति नै सुने पनि, महामारीकै संज्ञा दिए पनि खासै चिन्ता थिएन, आत्मबल बलियै थियो जब यसले छोयो तब ज्यादै मुस्किल हुनेरहेछ। कोरोना कोसँग छ भन्ने अनुहारले देखाउँदैन र बाहिर देखिने पनि होइन। बुद्धिमानी भनेको सुरक्षित रहनु नै हो। यस्तो सुद्धि बेलैमा आएको भए, सायद एउटा सानो कोठालाई संसार मानेर बस्नुपर्थेन।  

औषधी खान थालेको नवौं दिन शरीरमा अर्कै फुर्ति आयो। प्रत्येक दिन तातोपानी र बेसारपानी खाने बानी परिसकेको छ। सुरुका दिन झंै निद्रा नलाग्ने, ढाड दुख्ने अब पटक्कै छैन। पोषिला खानेकुराले पनि कोरोनालाई थिच्दै लग्यो। मनमनै अब पूर्णस्वस्थ भइसकेको महसुस भयो। 

प्रत्येक वर्ष रुघाखोकी लागेकै थियो अनि ज्वरो पनि आएकै हुन्थ्यो। टाउको फुट्ला भैmं दुख्ने, जिउ दुख्ने पनि भएकै थियो। दुई–चार दिन तातोपानी खाएपछि सबै ठिक हुन्थ्यो। तर, अहिले यसैलाई कोरोना भन्न थालियो। पहिला यसको नाम कसैलाई पत्तो थिएन। मेरो अनुभवमा पहिले र अहिलेमा सास फेर्न गाह्रो हुने, खानाको स्वाद हराउने, गन्ध पत्ता नलाग्ने भने चाहिँ पक्कै नौलो हो। 

विगतमा एक्लै खाएको अनुभव थिएन, खाएको जुठो आफैं माझ्थिनँ। तर, कोरोनाले पीडा दिए पनि स्वाबलम्बी र आत्मनिर्भर बन्नसक्ने सकारात्मक पाठ सिकाइदियो। लेखपढमा थप रुची जगाइदियो। मेरा दैनिकी नै परिवर्तन भए। १२ दिन एउटै कोठामा बिताएपछि १३औं दिन पुनः कोरोना परीक्षण गर्न केएमसी अस्पताल दुवाकोट गए।  

भोलिपल्ट रिपोर्ट लिएँ। नेगेटिभ थियो। मनमा खुसी छायो। अब चाहिँ पालना गर्नुपर्ने स्वास्थ्या मापदण्ड के हो भनेर बुझ्न डाक्टरकोमा गएँ। डाक्टरको व्यवहारले झनै खुसी भएँ। यसअघि टाढै रहेर कुरा गरेका उही डाक्टरले आज नजिकै बसेर कुरा गरे। अब औषधी खानु नपर्ने, पुरानै जीवनमा फर्किन सुरक्षित बस्ने, मास्क प्रयोग गर्ने, स्यानिटाइजर प्रयोग गर्ने, भीडभाडमा नजाने, भौतिक दुरी कायम गर्नेजस्ता बानी बसाल्नुपर्ने भयो। घर फर्किएर परिवारसँग खुसीयाली साटेँ। १५औं दिनदेखि नियमित कार्यालय जान थालेँ। पुनः सबैलाई भन्न चाहन्छु– ‘कोरोनालाई हेल्चेक्र्याइँ नगरौं, ज्यानै सक्छ!’ 

(मूल नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक हुन्।)


Leave a Reply

Your email address will not be published.