पुस १८ भित्र संसद अधिवेशन बोलाउनै पर्छ : सभामुख सापकोटा

पुस १८ भित्र संसद अधिवेशन बोलाउनै पर्छ : सभामुख सापकोटा

संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले पुस १८ भित्र संसदको हिउँदे अधिवेशन बोलाउनुपर्ने बाध्यता रहेको बताएका छन्।

१४औँ संघीय संसद सेवा दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्।

असार १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको बजेट अधिवेशन अन्त्य गरेकी थिइन्। त्यसपछि संसदको अर्को अधिवेशन डाकिएको छैन। 

दुई अधिवेशनबीचको अन्तराल ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ। पुष १८ मा बजेट अधिवेशन अन्त्य भएको ६ महिना पुग्दै छ।

‘पुष १८ मा बजेट अधिवेशन अन्त्य भएको ६ महिना पुग्दै छ,’ सभामुख सापकोटाले भने,‘त्यस अवधि भित्र हिउँदै अधिवेशन बोलाउनै पर्ने हुन्छ।’ 

सापकोटाले हिउँदे अधिवेशन नयाँ ढंगले चलाइने समेत बताएका छन्।

‘अहिलेसम्मको संसद अधिवेशन अलि परम्परागत र औपचारिक ढंगले चलिरहेको छ,’ उनले भने,‘हिउँदै अधिवेशन नयाँ ढंगले संविधान कार्यान्वयनको बाटोमा अघि बढ्छ।’

सभामुख सापकोटाले गुणस्तरीय कानुन निर्माण हुन नसके सुशासन र समृद्धिका कुरा निर्थर प्रवचनमात्र सावित हुने भन्दै गुणस्तरीय कानुन निर्माणमा जोड दिए।

नेतृत्वको ‘स्पिरिट’ र कर्मचारीको दक्षता मिलाएरमात्रै गुणस्तरीय कानुन निर्माण सम्भव रहेको उनको भनाइ थियो।

‘गुणस्तरीय कानुन बनेन भने त्यहिँबाट बिडम्बना सुरु हुन्छ, त्यहिँबाट बिग्रन सुरु हुन्छ,’ उनले भने,‘गुणस्तरीय कानुन निर्माण सँगसँगै संसदीय निगरानीमार्फत निर्मित कानुन कार्यान्वयनको अवस्थापनि उत्तिकै जरुरी छ।’

राज्यका प्रमुख निकाय कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका रहेको र व्यवस्थापिकाबाट राष्ट्रपति, उपराष्ट्र तथा प्रधानमन्त्री चयन हुने भएकोले संसदको बढी महत्व रहेको सापकोटाले बताए।

कोरोना संक्रमणका कारण संसद सञ्चालनमा कुनै समस्या नआउने समेत बताए। कोरोनाका कारण संसद अधिवेशन प्रभावित हुन नदिन संसद सचिवालयले सम्पूर्ण तयारी गरेको उनले जानकारी दिए।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान कार्यान्वयन र लक्ष्य हासिल गर्न संघीय संसदको विशेष भूमिका रहेको बताए।

कानुनमन्त्री शिवमाया तुम्वाहाम्फेले ऐन निर्माणमा संसदका कर्मचारीको भूमिका महत्वपूर्ण रहेको बताइन्।


Leave a Reply

Your email address will not be published.

थप समाचार