प्रधानमन्त्री ओलीले चौथाइवालेलाई भेट्नु कूटनीतिक मर्यादाविपरीत : रावल

प्रधानमन्त्री ओलीले चौथाइवालेलाई भेट्नु कूटनीतिक मर्यादाविपरीत : रावल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) नेता विजय चौथाइवालेसँग भएको भेटवार्ताप्रति आपत्ति जनाएका छन्।

आफ्नै पार्टीका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ र विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई जानकारी नदिई प्रधानमन्त्री ओलीले भाजपा नेता चौथाइवालेसँग भेट गरेको भन्दै रावलले आपत्ति जनाएका हुन्।

भाजपाका विदेश प्रमुखसमेत रहेका चौथावालेले बिहिबार प्रधानमन्त्री ओलीलाई बालुवाटार पुगेर भेट गरेका थिए।

रावलले पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी नदिइ भाजपाका विदेश विभाग प्रमुखलाई प्रधानमन्त्रीले भेट्नु विधि, पद्धति र कूटनीतिक मर्यादाविपरित रहेको बताएका छन्।

‘आफ्नै पार्टीका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई जानकारी नदिइ भाजपाका विदेश विभाग प्रमुखलाई सरकारी व्यक्ति सरह आमन्त्रण गर्दै नेपालका प्रधानमन्त्रीले बालुवाटारमा वार्ता गर्नु विधि, पद्धति र कूटनीतिक मर्यादाको अर्को परिघटना हो,’ रावलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,‘’ देश, पार्टी र पदको गरिमाको रक्षा होस्।’

बिहिबार काठमाडौं पुगेका भाजपा विदेश विभाग प्रमुख चौथाइवालले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए।

त्यसपछि उनले नेकपा महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई भेटेका थिए।

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र विदेश विभाग प्रमखुसमेत रहेका वरिष्ठ नेता नेपाललाई नभेटेर चौथाइवाले शनिबार स्वदेश फर्किएका छन्।


Leave a Reply

Your email address will not be published.