किन पहाड चढ्दैछन् बाघ?

किन पहाड चढ्दैछन् बाघ?

भारतको पश्चिमी महाराष्ट्रको जंगलबाट निस्किएको ३ वर्षीय बाघले अघिल्लो महिना ३ हजार किलोमिटर यात्रा पार गर्‍याे।

मान्छेका वस्ती र सयौं खोल्सा पार गर्दै यसले थुप्रै राज्य र जिल्लाको चक्कर लगायो। अनि महाराष्ट्रकै अर्को एउटा संरक्षित वनमा पुगेर आफ्नो ‘राज्य’ बनायो।

तर, ऊ आफू जन्मेको अर्थात् पुरानो वासस्थान फर्किएन।

यो बाघ किन हिँड्यो? किन ३ हजार किलोमिटर यात्रामा भौतारियो अनि फेरि किन आफ्ना कोही पनि ‘साथी’ नभएको जंगलमा गएर एक्लै बस्यो?

कतिले साथीको खोजीमा त्यो बाघ भौतारिइरहेको भनेका छन्, कतिले अनुकूल वातावरणको खोजीमा भनेका छन्।
वन्यजन्तु विज्ञले पनि यसको ठ्याक्कै जवाफ दिन सकेका छैनन्।

जब कि सुरुकै ठाउँमा उसलाई वासस्थानको कुनै समस्या थिएन। र, उसलाई सुहाउँदा सहपाठीको कमी पनि थिएन।
केही समयअघि पश्चिम नेपालको डडेल्धुरा जिल्लाको करिब २ हजार ५ सय मिटर उचाइमा एउटा बाघ देखियो।

र, पछिल्लो पटक रेडपाण्डा नेटवर्कको सहकार्यमा पूर्वी नेपालका २० ठाउँमा सेट गरिएका क्यामेरामध्ये इलाम जिल्लाको ३ हजार १ सय ६५ मिटर उचाइमा रहेको एउटा क्यामेरामा ‘पाटेबाघ’ कैद भयो।

                   इलाम जिल्लाको ३ हजार १ सय ६५ मिटर उचाइमा कैद भएकाे ‘पाटेबाघ’। 

नेपालमा यतिधेरै उचाइमा बाघ फेला परेको यो पहिलो पटक हो।

किन भौतारिइरहेछन् बाघ?

एउटा भनाइ छ, ‘भगवानले जनावरलाई प्रेम गरेर जंगल बनायो। तर, मान्छेले जनावरलाई प्रेम देखाउन पिँजडा बनाइदियो।’

अर्थात् बाघका ती ‘घर’ हरू मानिसले तहसनहस पार्दैछ।

‘जताततै मान्छे नै मान्छे छन्। बाघ बस्ने चारकोसे झाडी सबै उजाडिएका छन्,’ जलवायु विज्ञ नमिन्द्र दाहाल भन्छन् ‘अब कहाँ जाने? जता जंगल बाक्लो छ। जता मान्छेको हल्ला कम छ उतै जाने हो।’

पूर्वी इलामको ३ हजार १ सय ६५ मिटर उचाइमा भेटिएको यो बाघले सायद आफ्नो गन्तव्य भेटाएको छैन। हिँड्दा हिँड्दै ऊ एउटा क्यामेरामा कैद भयो।

बंगाल खाडी वरिपरिको चारकोसे झाडीमा डुलिहिँड्ने भएका कारण यसलाई ‘रोयल बंगाल टाइगर’ भनिएको हो। तर, जब मान्छेले ती चारकोसे झाडी तहसनहस पार्दै गयो, जताततै टापुमात्रै बन्न थाले।

त्यै पनि मान्छेको हल्लीखल्ली उस्तै।

वन तथा भूसंरक्षण विभागले इलामको त्यो उचाइमा पाटेबाघ फेला परेको भन्दै विज्ञप्ति जारी गरेलगत्तै दाहालले ट्विट गरे, ‘पहिलो पटक बंगाली बाघ इलाम जिल्लास्थित ३१६५ मि.को उचाइमा फेला परेको यो खबर निश्चय शुभ संकेत भने होइन!’
अनि उनको ट्विटमा प्रश्न सोधिएका छन् ‘के हुन सक्ला त कारण?’

र, त्यसमा पूर्वजलस्रोत मन्त्री दीपक ज्ञवालीले त्यसका दुई कारणलाई प्रश्नात्मक उत्तर दिने प्रयास गरेका छन्-
‘तराईमा मानव बस्ती बिस्तारको प्रेसरले नयाँ हन्टिङ ग्राउण्ड खोज्दै हिँडेको?’ वा ‘क्लाइमेट चेन्जले तलका झारपार बोटबिरुवा माथिमाथि सर्दै जाँदा बाघले खाने हर्विभोर पनिमाथि सर्दै गएको?’

यसलाई सदर गर्दै दाहालले भनेका छन् ‘एकदमै सही हो।’

उनले भनेका छन् ‘प्राकृतिक वासस्थान साँघुरिएर, कोलाहलपूर्ण बनेर अनि समग्र वातावरणको गुणस्तर खस्किएर उ छटपटाएको हुनुपर्छ।’

अथवा,

‘जलवायु परिवर्तनको पहिलो कहर अनुभव गर्ने र भोग्ने पनि वन्यजन्तुले नै हो। तसर्थ, बाघ स्मार्ट विकल्पको खोजीमा निस्केको हुनसक्छ।’

जब बाघका चाल प्राकृतिक बासस्थानभित्र स्वतन्त्र हुन्छन् त्यस बेला प्रकृतिले पनि गर्व गरिरहेको हुन्छ।
र, जब बाघले बाटो बदल्छ, उसको सिधा ‘फाइट’ मानिससँगै हुन्छ।

यो एकअर्काको जीवनकै ‘अस्तित्व’ माथिको लडाइ पनि हो।

जलवायु परिवर्तन मान्छेकै महत्वाकांक्षाको प्रतिफल हो।

अनि त्यसको असर नजाँनिदो तरिकाले मान्छेको जीवन भोगाइ र जनावरको बाँच्ने शैलीमा घुसिरहेको हुन्छ।

उसै त एउटा जवान बाघले बुढो बाघलाई सहन्न। एउटा ‘डमरु’ तन्नेरी हुँदै जाँदा उसले आफ्नै बाबुआमालाई समेत लखेट्छ र, आफ्नो इलाका सुरक्षित गर्छ।

शिकार गर्न नसक्ने, बुढो र कमजोर बाघले सजिलो सिकारका लागि बासस्थान फेर्छ। तन्तेरी बाघ आफैमा मत्ताउँदै हिँड्छ।
आफू अनुकुल गन्तव्य खोज्दै हिँड्छ।

पहाडतिर किन?

किनकि अब पहाड पहाडजस्तो छैन। तराई, तराईजस्तो रहेन। यो जलवायु परिवर्तनको कारण हो।

अब चिसोमा हेर्नुस् तराईमा अत्यन्तै चिसो हुन्छ। न्यानोमा अत्यन्तै गर्मी। अनि पहाड विस्तारै तातिँदैछ। घाम पनि पहाड वा डाँडातिरै लाग्छ,’ दाहाल भन्छन्, ‘यो बाघको सवालमा पनि त्यस्तै भएको हुनुपर्छ।’

उनका अनुसार बसाइँसराइको सामान्य मनोविज्ञान पनि यही नै हो। चाहे त्यो जनावर होस् या मान्छे।

‘पहाडको हावापानी अब विस्तारै तराईका फाँटमा बस्ने जनावरले पनि आफ्नो अनुकूल बनाउन वा पचाउन थालिसकेका छन्,’ उनले भने, ‘माइग्रेशनको सामान्य विज्ञान नै यही हो। जहाँ बसिरहेको छ त्यहाँ बस्नै नसकिने भएपछि के गर्नु?’
यसो भए त हिँड्नैपर्छ। आफूअनुकुल गन्तव्य नभेटिएसम्म भौतारिनै पर्छ।
चाहे त्यो ३ हजार किलोमिटरसम्म भौतारिएको महाराष्ट्रको बाघ होस् या इलामको ३ हजार १ सय ६५ मिटर उचाइमा ‘जीवन’ खोजिरहेको ‘पाटेबाघ’।

सम्बन्धित समाचार : नेपालमा पहिलोपल्ट ३१६५ मिटर उचाइमा देखियो पाटेबाघ 

तीन हजार किलोमिटर यात्रा गर्ने एउटा बाघको कथा

बाघबिनाको जंगल कस्तो होला


2 thoughts on “किन पहाड चढ्दैछन् बाघ?

Leave a Reply

Your email address will not be published.