सरकारविरुद्ध आज कांग्रेसको देशव्यापी प्रदर्शन

सरकारविरुद्ध आज कांग्रेसको देशव्यापी प्रदर्शन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दै छ। 

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार भएको, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाही तथा असफलताविरुद्ध कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो। कांग्रेस सभापति शेरबहादुर देउवाले देशभर हुने प्रदर्शनमा उत्साहप्रद सहभागीता जनाउन कार्यकर्तालाई आह्वान गरिसकेका छन्।

सभापति देउवाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीका समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्न/गराउन समेत आग्रह गरेका छन्।

देउवाले  विज्ञप्तिमार्फत जिम्मेवार प्रतिपक्षीको भूमिका निभाउँदै आएकोमा सरकारले त्यसलाई कमजोरीका रूपमा लिएको बताउँदै कांग्रेस अव सशक्त रुपमा आगाडि बढ्ने बताए।

यस्तै दोलखाको सभालाई सम्बोधन गर्न चरिकोट पुगेका कांग्रेस युवा नेता नैनसिंह महरले लामो संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेकपा सरकारबाटै खतरामा रहेकाले कांग्रेसले शसक्त प्रतिकार गर्नुपरेको बताए।

उनले कांग्रेसले अब सडकदेखि संसद्सम्म सरकारलाई तीव्र दबाब दिने रणनीति लिएको बताए। सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेको उनको आरोप छ। 

यस्तो महामारीमा प्रधानमन्त्री स्वयं जनताका सवाललाई छोडेर पार्टीको गुटवन्दीमा लागेको नेता महरको आरोप छ। नेकपाका सबै नेता भ्रष्टाचार गरेको रकम बढी कसले कुम्ल्याउने र पार्टी भित्र ठूलो भाग कसले खाने भन्ने लडाइमा रहेकाले देशको अवस्था जरजर बन्दै गएको महरले बताए।


Leave a Reply

Your email address will not be published.