राम–जानकी विवाहोत्सवमा कोरोना कहर

राम–जानकी विवाहोत्सवमा कोरोना कहर

जनकपुरको जानकी मन्दिर सुनसान छ। 

गर्भगृहमा दुईजना पुजारी उभिरहेका थिए। बिहानैदेखि भरिभराउ रहने फाटफुट दर्शानर्थीहरुमात्रै आउजाउ गरिरहेका थिए। 

शनिबार बिहान जानकी मन्दिरमा यस्तै दृष्य देखिन्थ्यो।

सामान्य दिनमा पनि जानकी मन्दिर दर्शनार्थीहरुले भरिभराउ हुने गर्दछ। झनै खास धार्मिक मौकामा भीडभाड रहन्छ, जानकी मन्दिरमा।

तर, यस वर्ष जनकपुरको सबैभन्दा ठूलो धार्मिक समारोह राम–जानकी विवाहोत्सवमा पनि दर्शनार्थीहरू पुगेका छैनन्। राम–जानकी विवाहोत्सवमाथि कोरोना कहर परेको छ।

राम–जानकी विवाहोत्सवमा नेपालसहित भारतका विभिन्न स्थानबाट लाखौंको संख्यामा दर्शनार्थी जनकपुर पुग्दछन्। र, यो सिलसिला एक साताअघि बाट सुरू हुन्छ।

होटल र धर्मशाला अपुग हुँदा दर्शनार्थीहरुका लागि स्थानीय सामाजिक संघ संस्थाहरूले बासको व्यवस्था मिलाउँछन्। एक साताअघि देखि जानकी मन्दिर सजाइन्छ। राम–सीताको स्वयम्भरस्थल बाह्रबिघा मैदानमा पण्डाल लगाएर सजाउने काम एक साताअघि नै पूरा भइसक्दछ।

वैवाहिक कार्यक्रममा जन्तीका रुपमा भारतको अयोध्या, वृन्दावनलगायतका स्थानबाट साधुसन्तहरू आउने गर्दछन्।

तर, यसपटक भने जानकी मन्दिरमा न त विगत जस्तौ चहलपहल छ न भारतबाट आउने तिर्थालुहरुको भीडभाड नै। र, यसको प्रमुख कारण बनेको छ कोरोना।

कोरोनाका कारण नेपाल–भारत नाका विगत ९ महिनादेखि बन्द छ। नकाबाट मानिसहरू पैदल आवत–जावत गरेपनि गाडी गुडेको छैन। गाडी नगुडेपछि विवाहपञ्चमीमा आउने तिर्थालुहरुको संख्या ह्वात्तै घटेको छ।

साताव्यापी कार्यक्रम गरेर मनाइने राम–जानकी विवाहोत्सवको मुख्य समारोह यस वर्ष पौष ४ गते परेको छ। पौष ४ मा मिथिला विधिअनुसार राम–जानकीकौ वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ।

तर, त्यसअघिका कार्यक्रमहरू सोमबारदेखि सुरु भइसकेको छ। राम–जानकी विवाहोत्सवअन्तर्गत सोमबार नगर दर्शन कार्यक्रम मनाइँदै छ। त्रेता युगमा विहे गर्न जनकपुर पुगेकोबेला भगवान रामलाई नगर दर्शन गराइएको मान्यताअनुसार हरेक वर्ष विवाहोत्सवमा यो कार्यक्रमम मनाइन्छ।

विवाहोत्सव सुरू भइसकेपनि जानकी मन्दिरभित्र खासै सजावटको काम भएको छैन। जानकी मन्दिर प्राङ्गणभित्र सामान्य पण्डाल लगाइएको छ।

कोभिडका कारण यस वर्ष राम–जानकी विवाहोत्सव औपचारिकतामा मात्र मनाइने जानकी मन्दिरका महन्थ तपेश्वर दास बताउँछन्।

‘कोरोनाका कारण विवाहोत्सव प्रभावित भएको छ, बढी भीडभाड गर्नु ठीक देखिएको छैन,’ उनले भने,‘यस वर्ष औपचारिकता पूरा गर्न विवाहपञ्चमी मनाउने तयारी छ।’

महन्थ दासका अनुसार यस वर्ष अयोध्यालगायत भारतका विभिन्न स्थानबाट जन्तीको रुपमा आउने साधुसन्तलाई समेत आमन्त्रणा पठाइएको छैन।
सोमबारदेखि साप्ताहिक रुपमा मनाइने विवाहोत्सवअन्तर्गत मंगलबार फूलबारी लिला, बुधबार धनुषयज्ञ, बिहिबार तिलकोत्सव, शुक्रबार मटकोर र शनिबार वैवाहिक कार्यक्रम गरिने छ।

अन्तिम दिन रामकलेवाका साथै विवाहोत्सव कार्यक्रम सम्पन्न हुनेछ।


Leave a Reply

Your email address will not be published.