गाउँ जाँदैनन् प्राविधिक, व्यावसायिक तरकारी खेतीको इच्छा अधुरै

गाउँ जाँदैनन् प्राविधिक, व्यावसायिक तरकारी खेतीको इच्छा अधुरै

कैलालीको गोदावरी नगरपालिकाले एक वडा एक नमूना कृषि उत्पादन क्षेत्र घोषणा गरेको छ। १२ वडामा छुट्टाछुट्टै कृषि उपज उत्पादन गर्नेलक्ष्यसहित नगरपालिकाले यस्तो घोषणा गरेको हो।

तर, गोदावरीकै महिला किसानले कृषि प्राविधिकको सहयोग नपाउँदा व्यवसायीक खेती गर्न नसकेको गुनासो गरेका छन्।

गोदावरी नगरपालिकाको केन्द्रमै रहेको वडा नम्बर ३ का महिलाले कृषिसम्बन्धी आवश्यक प्राविधिक ज्ञान अभावका कारण चाहेर पनि कृषि व्यवसाय अंगाल्न नसकेको गुनासो गरेका हुन्। 

‘मैले कृषिमा लाग्ने सोच बनाएँ,’ गोदावरी नगरपालिका-३ की शान्ति शिलालले भनिन्, ‘तर ज्ञान-सीप नहुँदा काम अघि बढाउन सकेन, नगरपालिकाले उपलब्ध गराउने भनिएका प्राविधिक कहिल्यै गाउँमा आएनन्,’ 

दलित महिला संघकोे सहयोगमा बारीमा कृषि प्राविधिक पुग्दा  खुसी भएकी उनले आफ्नो गाउँमा पहिलो पटक प्राविधिक आएको बताइन्। ‘बल्लबल्ल गाउँमा प्राधिकि आउनु भएको छ,’ उनले भनिन्, ‘यसरी नै नियमित प्राविधिक पाए कृषि व्यवसाय गर्ने थिएँ।’ उनले महँगोमा बीऊ किन्नुपर्ने र उत्पादन नहुने समस्यालो तरकारी खेती गर्ने नसकेको बताइन्। 

वडा नम्बर–३ की किस्ना शिलालले कृषि प्राविधिकको उपयुक्त सल्लाह नपाउँदा कृषि व्यवसायबाट हात झिकेको बताइन्। ‘मैले १ वर्ष व्यवसायीक कृषि खेती गरेकी थिएँ,’ उनले भनिन्, ‘तरकारीमा विभिन्न रोग देखा पर्दा समाधानका उपाय भेटिन, अनि व्यवसाय छोडेकी हुँ।’ 

कृषि व्यवसायका लागि सल्लाह माग्न पटक–पटक नगरपालिका जाँदा सहयोग नपाएको उनले गुनासो गरिन्।

नगरपालिकाका प्राविधिक कर्मचारी बारीमा आउन मान्दैनन्,’ उनले भनिन्, ‘भेटेरिनरीबाट औषधि दिएर पठाउँथ्ये, औषधि प्रयोग गर्न नजान्दा फलेको तरकारीसमेत नष्ट हुन थाल्यो।’ उनले आवश्यक प्राविधिक सल्लाह पाए श्रीमानश्रीमति नै कृषि पेशामा लाग्ने बताइन्। 

स्थानीय शान्ति विकले विगत एक वर्षदेखि एक कट्ठा जग्गामा मौसमी तरकारी खेती गर्दै आएको बताइन्। तर, हालसम्म तरकारी भने नबेचेको उनको भनाइ छ। ‘रोपेको तरकारीले घरमा खान पुगेको छ,’ उनले भनिन्, ‘सोचेजस्तो तरकारी कहिल्यै फलेन।’

नगरपालिकाका कृषि शाखा अधिकृत वासुदेव भट्टराईले अहिले पनि नगरपालिकाभित्र व्यवसायिक तरकारी खेती न्यून रहेको बताए। वडाले छनोट गरेका आधारमा प्राविधिक तालिम प्रदान गर्ने गरेको उनले बताए।

‘नगरका कुनै पनि नागरिकले कृषि प्राविधि तालिम चाहियो भनेर माग गरे हामी अवश्य जाने छौं,’ उनले भने, ‘तर अहिलेसम्म किसानबाट त्यस्तो माग भएको छैन, वडाले छनोट गरेका स्थानमा हामी जाने गरेका छौं।’ उनले नगरपालिकाभित्र चार सय समूह र ५० वटा फर्म दर्ता भएको बताए। 

गोदावरीले कृषि क्षेत्रका लागि चालु आवमा १ करोड बजेट विनियोजन गरेको छ।


Leave a Reply

Your email address will not be published.