सरकार भ्रष्टाचारमा, नेकपाले जनविश्वास गुमायो : शशांक कोइराला

सरकार भ्रष्टाचारमा, नेकपाले जनविश्वास गुमायो : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सत्तासीन नेकपाले जनताको विश्वास गुमाएको बताएका छन्।

पार्टीले विराटनगरमा गरेको विरोध सभालाई सम्बोधन गर्दै कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले जनताहितमा काम गर्नुभन्दा भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए।

उनले दुुईतिहाइको सरकार कोभिड महामारीमा समेत असफल भएको भन्दै सरकारले कोभिडमा आर्थिक अनियमितता गर्ने अवसरको रुपमा लिएको बताए। ‘महामारीमा सरकारले जुन रफ्तारमा काम गर्नुुपर्ने थियो, त्यो भएन,’ उनले भने, ‘सरकारमै बसेकाले अनियमितता गरिरहे। प्रधानमन्त्री हेरिरहनुभयो।’

महामन्त्री कोइरालाले नेपाली कांग्रसले नेकपालाई तीन वर्ष लाभको समय दिएको बताए। भने, ‘कांग्रेसले नेकपालाई तीन वर्ष ग्रेस पिरिएड दियो। अब कांग्रेस चुप लाग्दैन। जनताले समेत सरकारले केही गर्दैन भनेर थाहा पाइसके।’

उनले आउँदो निर्वाचनमा पार्टीलाई एक बनाएर लग्ने बारे आफू स्पष्ट भएको र पूर्व माओवादी र पूर्व एमालेलाई परास्त गर्ने उद्देश्यले काम गर्ने बताए। आफू पार्टी एक ढिक्का होस् भन्ने पक्षमा रहेको भन्दै उनले अघिल्लो चुनावमा दुईपार्टी एक भएर कांग्रेसलाई हराउँदाको परीणाम अहिले देशले भोग्नुपरेको जिकिर गरे। 

‘मलाई विश्वास छ, अब जनताले नेकपाको सरकार हेरिसके र अब कांगे्रसकै पालो हो,’ कोइरालले थपे, ‘जनताको पक्षमा इमान्दार भएर काम गर्दै फेरि जनताको सेवा गर्ने अवसर कांग्रेसलाई छ।’


Leave a Reply

Your email address will not be published.