ओली सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादको माहुते- नैनसिंह महर 

ओली सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादको माहुते- नैनसिंह महर 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता एवं स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरले केपी शर्मा ओली नेतृत्वको सरकारमा नैतिकता नरहेको आरोप लगाएका छन्।

सोमबार दोलखाको चरिकोटमा सरकारवविरुद्धको सभालाई सम्बोधन गर्दै महरले प्रमुख प्रतिपक्षी दलका वरिष्ठ नेता पुल उद्‌घाटन गर्न जाँदा प्रहरी हिरासतमा राखिनुले ओली सरकारको नैतिकताको खिल्ली उडाएको बताए।

 सरकारले पौडेलमाथिको दुर्व्यवहारको ठूलो मूल्य चुकाउनु पर्ने उनले बताए।

भ्रष्टाचार र कोरोना नियन्त्रणमा असफल सरकारले नैतिकताको ठूलो कुरा गर्नुले आफूले आफैलाई जिस्काइरहेको भान भएको महरको भनाइ छ।

जिम्मेवार प्रतिपक्षीको भूमिका निभाउँदै आएकोमा सरकारले त्यसलाई कमजोरीका रूपमा लिएको र अब कांग्रेसको तागतलाई सरकारले देख्ने नेता महरले चेतावनी दिए। ‘देश दुर्घटनामा पर्ने खतरा हुँदा सधै कांग्रेसले बचाएको र यो पटक पनि देशलाई ओली राजको चंगुलबाट बाहिर ल्याएरै छोड्ने छु,’ उनले भने।

लामो संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेकपा सरकारबाटै खतरामा रहेकाले कांग्रेसले सशक्त प्रतिकार गर्ने उनले बताए।

‘कांग्रेस देश र  जनताप्रति जिम्मेवार छ। हिजो कोरोना महामारी थियो। सबैले सावधानी अपनाउनुपर्ने बेला हो। त्यस्तो बेला सरकारलाई कांग्रेसको सहयोगको पनि खाँचो थियो। हामीले महामारीमा काध थापीरह्यो। सरकारले त्यसको गलत फाइदा उठाउँदै गयो। र, हाम्रै नेतामाथि जाइलाग्न थाल्यो,’ उनले भने।

कांग्रेसले अब सडकदेखि संसदसम्म सरकारलाई तीव्र दबाब दिने रणनीति लिएकाले सरकारको यस्तै दमनकारी नीति धेरै दिन नटिक्ने महरले दाबी गरे। सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेको उनले आरोप लगाए। सरकार अधिनायकवादको माउते भएको महरको आरोप छ।

कोरोना महामारीमा प्रधानमन्त्री स्वयं जनताका सवाललाई छोडेर पार्टीको गुटबन्दीमा लागेको नेता महरले बताए। नेकपाका सबै नेता भ्रष्टाचार गरेको रकम बढी कसले कुम्ल्याउने र पार्टीभित्र ठूलो भाग कसले खाने भन्ने लडाइमा रहेकाले देशको अवस्था जरजर बन्दै गएको महरले बताए।

‘राजनीतिक प्रयोगको सिकार भएको देशमा दुई तिहाइको सरकारले केही गर्ला भनेर हामीले सरकारलाई सहयोग गरेका हौं,’ उनले भने, ‘सरकारले त प्रमुख प्रतिपक्षीको सहयोगलाई कमजोरीको रुपमा लिँदै दुई तिहाइको भरमा गुन्डाराज चलायो। भ्रष्टाचारमा लिप्त भयो। जनचाहना अनुसार काम गर्न सकेन।’


Leave a Reply

Your email address will not be published.