ओली सरकार ‘खतमाफ’ वर्गको संरक्षक : वरिष्ठ नेता पौडेल

ओली सरकार ‘खतमाफ’ वर्गको संरक्षक : वरिष्ठ नेता पौडेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वसत्तावादतर्फ उन्मुख भएको सरकार ‘खतमाफ’ वर्गको संरक्षक बनेको आरोप लगाएका छन्।

नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको विरोध र्‍यालीलाई सम्बोधन गर्दै पौडेलले नेकपा नेतृत्वको सरकार कानुन नै नलाग्ने गरी ‘खतमाफ’ वर्गको संरक्षण गरिहेको बताए।

कम्युनिस्ट र राजावदीको उस्तै प्रवृत्ति रहेको भन्दै उनले सरकारको सर्वसत्तावादविरुद्ध कांग्रेस सडकमा उत्रिनु परेको बताए।

‘आफ्ना कार्यकर्तालाई कानुन नै नलाग्ने गरी सरकारले संरक्षण दिएर बसेको छ, सत्ता दुरुपयोगको यसभन्दा राम्रो नमूना कहिँ पाइन्न,’ उनले भने, ‘अहिले सडकमा सरकारविरुद्धको असन्तोष पोखिएको छ।’

लोकतान्त्रिक संविधानमाथि कम्युनिस्ट सरकार, राजवादी र अर्को विप्लवले प्रहार गरिरहेको बताउँदै पौडेलले समावेशी लोकतन्त्रमाथि प्रहार हुनु गम्भीर विषय रहेको जिकिर गरेका छन्।

सरकारले कम्युनिस्टको आदेश पालन नगर्नेलाई सन्त्रासमा राख्न खोजेको आरोप लगाउँदै उनले अब यो रबैया धेरै नचाल्ने बताए। ‘सरकार कम्युनिस्टको होला तर, संविधान त लोकतान्त्रिक हो, देश कम्युनिस्टको होइन नि,’ पौडेलले भने, ‘सरकारले देशलाई नै कम्युनिस्ट बनाउन खोज्दै छ।’

सत्तारुढ नेकपाभित्र चलिरहेको द्वन्द्वको प्रसंग कोट्याउँदै पौडेलले लोकतान्त्रिक प्रक्रियाअनुसार संसदमा आएर प्रधानमन्त्री फेर्न सुझाव दिएका छन्।

विपक्षीलाई देशभर दमन गरिरहेको कम्युनिस्टका सामान्य कार्यकर्ताले प्रशासन चलाएर सत्ताको दुरुपयोग गरिहेको उनले बताए।


Leave a Reply

Your email address will not be published.