भक्तपुरबाट उपसभापति निधिले भने- काेराेनाभन्दा खतरनाक सरकार

भक्तपुरबाट उपसभापति निधिले भने- काेराेनाभन्दा खतरनाक सरकार

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिस्ट नेतृत्वको सरकार कोभिडझैं खतरनाक भइसकेको आराेप लगाएका छन्। संघीयता र लोकतन्त्रविरोधी गतिविधिमा लागेको सरकार जनताका लागि जोखिम भइसकेको उनले टिप्पणी गरेका हुन्।

उपसभापति निधिले कम्युनिस्ट नेतृत्वको सरकार कोभिड-२०७७ रहेको टिप्पणी गरेका छन्।

मानिसको जीवनका लागि कोभिड खतरनाक रहेझै वर्तमान सरकार लोकतन्त्र र गणतन्त्रका लागि खतरा भइसकेकोले यो सरकार कोभिड-२०७७ भइसकेको निधिले बताएका हुन्।

सरकारबाट देखिएको खतराबाट मुक्त हुन सम्पूर्ण जनता एकजुट भएर अघि बढ्ने बेला आइसकेको उनले जिकिर गरे।

कांग्रेसले भक्तपुरमा आयोजना गरेको विरोध र्‍यालीमा बोल्दै उपसभापति निधिले लोकतन्त्र विरोधी र दमनकारी सरकारले सत्तामा बस्ने नैतिक र राजनैतिक अधिकार गुमाइसकेको उल्लेख गरे।

‘फरक विचार राख्नेमाथि सरकार दमनको नीति लिएर अघि बढेको छ, संविधान र संघीयता रक्षाका लागि कुनै काम गर्न सकेको छैन,’ उनले भने, ‘सरकारले सत्तामा बस्ने आफ्नै नैतिक र राजनैतिक अधिकार गुमाइसकेको छ।’

जनताको गुनासो पोख्ने मुख्य थलो संसद बन्द गरेर सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै उनले तत्काल संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेका छन्।

सरकारले संसद थुनेर बसेपछि बाध्य भएर कांग्रेस सडकमा ओर्लिनु परेको उनको भनाइ थियो। अधिनायकवादतर्फ अघि बढेर सरकारले राज्यका सबै अङ्गसँग खेलवाड गर्न खोजेको भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयताप्रति कांग्रेस प्रतिवद्ध रहेको बताए।

सेक्युरिटी प्रिन्टिङ प्रेसदेखि स्वास्थ सामग्री खरिदमा भ्रष्टाचार गरेकाहरुको संरक्षक सरकार बनेको निधिले आरोप लगाए।


Leave a Reply

Your email address will not be published.