ओली सरकारका गतिविधि समावेशिता विरोधी : नेता सिंह

ओली सरकारका गतिविधि समावेशिता विरोधी : नेता सिंह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकार समावेशिता विरोधी भएको बताएका छन्।

संविधान र लोकतन्त्रविरोधी गतिविधिमा डुबेको वर्तमान सरकार समावेशिताको सिद्धान्तसमेत अवमूल्यन गरेर अघि बढीरहेको सिंहले बताएका छन्।

कांग्रेसले जनकपुरमा आयोजना गरेको विरोधी -यालीमा बोल्दै नेता सिंहले आफूहरु शालीनताका साथ प्रतिपक्षको भूमिका निर्वाह गरिरहेपनि सडकमा ओर्लिन सरकारले बाध्य पारेको बताए।

‘हामी शालीन भएर रचनात्मक रुपमा प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौँ,’ सिंहले भने,‘सरकारको गलत कामको प्रतिपक्षले विरोध गर्न नसकेको आरोपसमेत हामीमाथि लाग्यो। सरकारले गर्न नहुने काम गरेपछि बाध्य भएर सडकमा आएका हौँ।’

सरकारविरुद्ध सांकेतिक रुपमा सुरू भएको विरोध प्रदर्शन अब निरन्तर जारी रहने उनले बताए। राज्यसत्ता केबल कम्युनिस्टहरूका लागि रहेको बताउँदै सिंहले सरकार विभेदकारी रहेको आरोप लगाए।

‘नेता, कार्यकर्ता र समर्थक पाल्न सरकारले राज्यको ढुकुटी रित्याइ रहेको छ, अब अति भइसक्यो,’ उनले भने,‘सरकारले समग्र नेपाली जनताका लागि काम गर्नुपर्ने हो। तर, यो सरकारबाट त्यो देखिएन।’

दुई तिहाइको दम्भमा फसेको ओली नेतृत्वको सरकार संघीयताको मर्म र भावनाविपरित गतिविधिहरू गरेर नेपाली जनताको ७० वर्षको संघर्ष अन्त्य गर्नतर्फ उद्यत रहेको उनको आरोप थियो।


Leave a Reply

Your email address will not be published.