उखु किसानका ऋण-पत्र

उखु किसानका ऋण-पत्र

माइतीघरको सडकमा फिँजिएका घामका राप पनि मलिन थिए। छिप्पिसकेको घाम पनि त्यत्ति न्यानो थिएन। 

त्यो घामले सेकिन नसकेको चिसो सडकमा थचक्क बसेका थिए, सर्लाहीका किसान रामेश्वरप्रसाद यादव। 

नागरिकताको ‘फोटोकपी’ कागजको पछाडितिर उनले लेखेका छन्-

गाडी भाडा ८००
खाना खाएको १ सय ५०


र, सोमबारसम्म उनको २ हजार ४० रुपैयाँ खर्च भइसकेको छ। 

असोज २६ गते सर्लाहीबाट हिँड्दादेखि अहिलेसम्म टिपेको उनको खर्च विवरण हो। 

तर, दुःखका अक्षर कसरी पो कोर्नु!

वर्षाैंदेखि पसिना बगाएर उब्जाएको उखु बेचेर पनि पैसा नपाउँदाको पीडा उनका अक्षरजस्तै बटारिएका छन्। 
कागजको एउटा कुनामा उनले लेखेका छन्– ब्याजसहित ऋण ६ लाख…।

‘साहुले त पैसा दिएनन्, अब सरकारले नदिए त कसरी घर जानु र?,’ काठमाडौं आउँदा ऋण काढेको ५ हजारवाला टुक्रा देखाउँदै उनले भने, ‘अब त लासै जाला बरू, सास फर्किन्न।’ 
….

आफ्नै पसिनाको मोल माग्दै उखु किसान फेरि आइतबारदेखि राजधानी आएका छन्, आन्दोलन गर्न। 

सर्लाही रामनगर–१ का यादवले उखुको बक्यौता नपाएको चार वर्ष भइसकेको छ।

चार वर्ष अघि उनले अन्नपूर्ण चिनीमिललाई ३ सय २४ क्विन्टल उखु बेचेका थिए, उधारोमा।

तर, चार वर्षसम्म उनले एक सुकोसमेत पाएनन्।

यादवले मिलबाट १ लाख ७४ हजार रुपैयाँ लिन बाँकी छ।

चार वर्षसम्म पैसा पाउनु त परको कुरा बरू उल्टै ६ लाख ऋण लागेको छ।

मिल सञ्चालकले चार वर्षसम्म पैसा दिएनन्।

‘छोराछोरी पढाउनै पर्‍याे, खाना खानै पर्‍याे, घर खर्च चलाउन गाउँबाट ऋण लिदालिदा आपत आइसक्यो, हामीले कसरी बाच्नु,’ उनले निन्याउरो मुख लगाउदै भने।

साहुले पैसा दिएन, छोरीको बिहे गर्ने बेला भयो।

जेठी छोरीको बिहेका लागि मलङ्गवामा रहेको कृषि विकास बैंकबाट १ लाख ५० हजार ऋण लिए।

ऋण तिर्न गाह्रो हुन्छ थाहा थियो।

तर, साहुले दिन्छ कि भन्ने आसमा ऋण लिई छोरीको बिहे गरे।

यादवले न ऋण तिर्न सके नत साहुले पैसा दियो।

ऋण लिएको १ लाख ५० हजारको ब्याज ६ लाख २७ हजार ६ सय १२ रुपैयाँ पुगेको छ।

२० वर्षदेखि उखु खेतीबाटै परिवारको हातमुख जोड्ने उनलाई ठूलो आपत आइलागेको छ।

‘खेती गर्न लिएको ऋणको ब्याज बढेर ६ लाख पुगिसक्यो,उखु बेचेर ऋण तिरौंला साचेको थिए। तर, यति टाढा आएर आन्दोलन गर्नुपरिरहेको छ,’ उनी भन्छन्।

आठजनाको परिवार पाल्ने एउटै सहारा उखु खेती हो यादवको।

भएको सबै जग्गामा उखु लगाएका थिए। नगद पैसा आउँछ भनेर।

तर, उनलाई मिल सञ्चालकले त लोप्पा खुवाए नै सरकारले समेत तमासा हेरिरह्यो।

‘काठमाडौं आउन ५ हजार ऋण लिएर आएको हुँ, पैसा नलिई कसरी घर जानु?,’ बरू लास जान्छ सास जान्न,’ यादव भन्छन्।

पैसा नलिई घर फर्किदा आउँदा लिएको ऋण समेत थपिने पिर छ उनलाई।

उखु खेतीबाहेक न कुनै इलम छ न त कुनै सीप।

आफ्नै पैसाका लागि यतिको दुःख गर्नुपर्दा उनलाई दिक्दार लागेको छ।

यादव अघिल्लो वर्षपनि पुसको चिसोमा काठमाडौं आएका थिए।

त्यहि उखुको बक्यौता माग्न।

उद्योग मन्त्रालय-उद्योगी-किसानबीच गत पुसको सम्झौता पश्चात उनले ३५ हजार रुपैयाँ त पाए।  तर, १ लाख ७४ हजार पाएनन्। मिल सञ्चालकले त ठग्यो-ठग्यो सरकारले समेत वास्ता नगरेको यादवको गुनासो छ।

र, याे पनि

‘ठूलो छ सरकार, अटेन किसान’

 

वार्तामा बोलाउँदा किन गएनन् उखु किसान?


Leave a Reply

Your email address will not be published.