सरकारले संसद थुनेपछि सडकमा

सरकारले संसद थुनेपछि सडकमा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशभर ‘शक्ति प्रदर्शन’ गरेको छ। 

प्रमुख प्रतिपक्षी दल सरकारविरुद्ध यसरी देशव्यापी सडकमा ओर्लिएको प्रतिनिधिसभाको यो कार्यकालमा पहिलो पटक हो। 

विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन केन्द्रीय नेताहरू आफैं जिल्ला जिल्लामा खटिए। विरोध कार्यक्रममा भाग लिन सभापति शेरबहादुर देउवा मकवानपुर पुगे भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंमा उत्रिए।

उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री शशांक कोइराला विराटनगर, केन्द्रीय सदस्य गगन थापा कैलाली, एनपी साउद अछाम र नैनसिंह महरलाई दोलखा खटाइएको थियो।

कांग्रेसले सोमबारको प्रदर्शनलाई ‘सांकेतिक’ मात्रै भनेको छ। 

यसको अर्थ आगामी दिनमा पनि आन्दोलनका थप कार्यक्रम आउनसक्ने संकेत कांग्रेसले दिएको छ। 

सरकार नसच्चिए संसद र सडक दुवै ठाउँमा थप सशक्त भएर प्रस्तुत हुन आफूहरु बाध्य हुने कांग्रेस नेताहरू बताउँछन्।

कोरोना महामारी फैलिएसँगै जनस्तरबाट सरकारको आलोचना भइरहँदा  प्रमुख प्रतिपक्षी दल भने ‘सुतिरहेको’ आलोचना यसअघि कांग्रेसले खेपिरहेको थियो। 

यो बीचमा ‘राजावादी’ पनि सडकमा देखिए। 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी आन्तरिक किचलोमै फसिरहेका बेला सडकमा राजा बोलाउनेहरूको आन्दोलन मच्चियो। त्यही पनि कांग्रेस भने मौन नै बसिरह्यो। 

कांग्रेसले सडकबाट दिएको संकेत
एक दिन प्रतिपक्षी सडकमा आउँदैमा कांग्रेसकै भनाइमा ‘सरकार सच्चिएला?’ 

सभापति देउवाले भनेका छन् ‘यो त संकेतमात्रै हो।’

यसको मतलब कांग्रेसले यो सडक संघर्षलाई निरन्तरता दिनेछ। 

सोमबारको प्रदर्शनले पार्टीलाई ‘नवीन ऊर्जा प्रदान गरेको’ सभापति देउवाले बताएका छन्।

विरोध प्रदर्शनपछि वक्तव्य जारी गरेर देउवाले देशव्यापी प्रदर्शनमा देखिएको व्यापक सहभागिताले वर्तमान कम्युनिस्ट सरकार र उसको सर्वसत्तावादी प्रवृत्तिविरुद्ध जनतम प्रकट भएको उल्लेख गरेका छन्।
‘आजको प्रदर्शनले नेपाली कांग्रेसलाई नवीन ऊर्जा प्रदान गरेको छ। यो ऊर्जालाई क्रमिक अभिवृद्धि गर्दै कांग्रेस आगामी दिनमा अझ सशक्त ढंगले बढ्ने म उद्घोष गर्न चाहन्छु,’ देउवाले भनेका छन्।

सडक कि संसद?

सरकारका हरेक कदममा खबरदारी गर्नु प्रमुख प्रतिपक्षीको राजनीतिक दायित्व नै हो। 

र, लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्षले आवाज उठाउने भनेको संसदमा हो।

तर, गत असार १८ गते बजेट अधिवेशन अन्त्य भएपछि संघीय संसदको अर्को अधिवेशन डाकिएको छैन। 
संसद सञ्चालन गर्न सरकारले भूमिका खेल्नुपर्ने हो।

पछिल्लो पाँच महिनादेखि संसद थुनिएको छ। र, परीणामस्वरूप प्रतिपक्षी दल सडकमा उत्रेका छन्।

सोमबारको विरोध प्रदर्शनमा पनि कांग्रेस नेताहरूले जनताको आवाज राख्ने ठाउँ संसद सरकारले बन्द गरेपछि बाध्य भएर आफूहरू सडकमा आउनु परेको बताए।साथै उनीहरूले तत्काल संसद अधिवेशन बोलाउनपनि सरकारसँग माग गरे।

सरकारले संसद बन्द गरेर लोकतन्त्र मास्न खोजेको कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी बताउँछन्। ‘संसद बन्द छ। सरकार लोकतन्त्रको अपहरण गर्न उद्यत देखिएको छ,’ जोशी भन्छन्, ‘लोकतन्त्र जोगाउन हामी सडकमा आएका हौँ।’

सरकारले मुलुकलाई प्रतिगमनतर्फ धकेल्न खोजिरहेको बताउँदै उनले राजवादीहरू सडकमा उत्रनुको प्रमुख दोषी पनि सरकार नै रहेको उल्लेख गरे।

कमजोर प्रतिपक्षको आरोप कांग्रेसमाथि लाग्दै आइरहेको छ। 

सरकारविरुद्ध वक्तव्य जारी गर्नुबाहेक प्रभावकारी भूमिकामा प्रस्तुत हुन नसकेको भन्दै कांग्रेसबारे टिकाटिप्पणी हुने गरेको छ। 

तर, केन्द्रीय सदस्य डिला संग्रौला कांग्रेस कमजोर नभइ ‘शालीन भएर’ प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताउँछिन्। ‘कांग्रेस कमजोर भएको होइन। हामीले शालीनताका साथ प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँ,’ उनी भन्छिन्, ‘तर सरकारले हाम्रो शालीनतालाई कमजोरी ठानेर भूल गरेको छ।’

सरकारले संसद बन्द गरेर जनताको आवाज दबाउन खोजेपछि कोरोना कहरबीच सडकमा आउनु परेको उनले बताइन्।

कांग्रेस सांसद राजेन्द्रकुमार केसी पनि संसद बन्द गरेर सरकार संविधानविरोधी गतिविधिमा लागेको बताउँछन्। ‘सरकारले संसद बन्द गरेको छ, संविधान मानेको छैन,’ केसी भन्छन्, ‘जनताको गुनासो राख्ने थलो बन्द भएपछि अब कहाँ जाने। सडकमा आउनै प-यो।’

संसद बन्द भएपछि सरकारविरुद्धको आक्रोश सडकमा पोखिन थालेको छ। 

पूर्वसभामुख दमननाथ ढुंगाना संसद बन्द भएपछि सरकारप्रतिको असन्तुष्टि सडकमा पोखिनु स्वभाविक रहेको बताउँछन्। ‘संविधानतः दुई अधिवेशनबीचको अन्तराल ६ महिना हुनुपर्दछ, त्यस हिसाबले गलत भन्न सकिन्न,’ उनले भने, ‘तर, कोरोनाका कारण मुलुक संकटमा परेका बेला सरकारले संसद सञ्चालनको वातावरण मिलाउनु पर्दथ्यो। त्यहाँ छलफल गरेर समस्याका निकास निकाल्न सकिन्थ्यो।’

संसद चलेको भए सम्भवतः सडकमा सरकारविरुद्ध विरोधका स्वर नदेखिन पनि सक्थ्यो ढुंगानाको भनाइ छ। ‘संसद चलेको भए पछिल्लो समय राजतन्त्र पक्षधर सडकमा आउँदैनथे कि!,’ ढुंगाना भन्छन्।


Leave a Reply

Your email address will not be published.