धमाधम सरकारलाई सचिव दिँदै भक्तपुरको चाँगुनारायण मावि

धमाधम सरकारलाई सचिव दिँदै भक्तपुरको चाँगुनारायण मावि

भक्तपुरमा धेरै स्कुल, कलेज छन्। राजधानी काठमाडौंसँग सीमा जोडिएको भक्तपुर शिक्षामा अब्बल जिल्ला हो। यहाँ धेरै सरकारी विद्यालय सञ्चालनमा छन्। तीमध्ये एउटा यस्तो विद्यालय छ, जहाँबाट पढाइ पूरा गरेका तीन विद्यार्थी अहिले निजामती प्रशासनको विशिष्ट श्रेणी (सचिव) पदमा कार्यरत छन्।

उनीहरूले अहिले सरकारका प्रमुख तीन निकाय हाँकिरहेका छन्।

ती तीन सचिव बनाउने सरकारी विद्यालय हो – भक्तपुर चाँगुनारायण नगरपालिका-१ स्थित चाँगुनारायण माध्यमिक विद्यालय। 

चाँगुनारायणको दुवाकोटमा रहेको यही विद्यालयबाट पढाइ पूरा गरेको शिशिरकुमार ढुंगाना, महेश्वर न्यौपाने र मणिराम गेलाल अहिले निजामती प्रशासनको उच्च ओहदामा रहेर कार्यभार सम्हालिरहेका छन्।

चाँगुनारायण माविबाट २०४० सालमा एसएलसी उत्तीर्ण गरेका गेलाललाई गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो। 

सरकारले उनलाई राष्ट्रिय सतर्कता केन्द्रको जिम्मेवारी सुम्पिएको छ। गेलाल सचिव बढुवा हुनुअघि सहरी विकास तथा भवन निर्माण विभागमा महानिर्देशक थिए। 

यही विद्यालयबाट २०४३ सालमा एसएलसी उत्तीर्ण गरेको ढुंगाना केही वर्षदेखि अर्थ मन्त्रालयको जिम्मेवारी हाँकिरहेका छन्। उनी सरकारको सचिव हुने यस विद्यालयकै पहिलो विद्यार्थी हुन्। 

‘मैले २०४३ सालमा चाँगुनारायण माविबाट एसएलसी उत्तीर्ण गरेको थिएँ। मणिराम (गेलाल) दाइ स्कुलमा मभन्दा तीन वर्ष सिनियर हुनुहुन्थ्यो भने महेश्वर (न्यौपाने) भाइ तीन वर्ष जुनियर,’ अर्थ सचिव ढुंगाना झन्डै साढे तीन दशकअघिको स्मृति खोतल्छन्। 

ढुंगाना २०७३ माघ २० गते अर्थ मन्त्रालयको सचिव नियुक्त भएका थिए। उनले चाँगुनारायणमा पढ्दा यस विद्यालयमा एसएलसीसम्म मात्र पढाइ हुन्थ्यो। तर, अहिले कक्षा १२ सम्म पढाइ हुने गरेको छ। 

एउटा सामान्य सरकारी विद्यालयमा पढेर निजामती प्रशासनको उच्च ओहदा सम्हाल्न पाउँदा गर्व महसुस हुने गरेको उनी सुनाउँछन्। 

‘सरकारी विद्यालय पनि निजी बोर्डि स्कुलभन्दा कम छैनन्,’ अर्थ सचिव ढुंगानाले आयोमेलसँग भने, ‘मिहिनेती र लगनशील हुनुपर्छ, सरकारी विद्यालयमा पढेर पनि उच्च स्थान हासिल गर्न सकिन्छ।’ 

त्यसैगरी यही विद्यालयबाट २०४६ सालमा एसएलसी उत्तीर्ण गरेका न्यौपाने अहिले गृह मन्त्रालय हाँकिरहेका छन्। उनी यो विद्यालयबाट सरकारको सचिव हुने दोस्रो विद्यार्थी हुन्। 

न्यौपाने गृह सचिव हुनुअघि अख्तियार दुरुपयोग अनसुन्धान आयोग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव थिए।

यी तीन सचिव उत्पादन गरेको चाँगुनारायण माविका प्रधानाध्यापक दधिराम गेलाल आफ्नो विद्यालयमा पढेका विद्यार्थीहरू निजामती प्रशासनको विशिष्ट श्रेणीमा पुगेर महत्वपूर्ण निकाय हाँक्नु सारा विद्याथी र अन्य सरकारी विद्यालयका लागि प्रेरणाको स्रोत भएको बताउँछन्। 

‘म पनि यही विद्यालयमै पढेको हुँ। अहिले प्रधानाध्यापक भएर काम गरिरहन पाउँदा खुसी लाग्छ,’ गेलालले आयोमेलसँग भने, ‘आफ्नो विद्यालयमा पढेर गएका सबै विद्यार्थीले यस्तै प्रगति गरिरहुन् भन्ने इच्छा सदैव छ। सरकारी विद्यालयमा पढेर केही हुँदैन भन्नेहरूका लागि हाम्रो विद्यालय उदाहरण बनेको छ।’

चाँगुनारायण मावि २००७ सालमा स्थापना भएको थियो। यसका चारवटा वटा भवन छन्। यहाँ व्यवस्थापन र शिक्षा संकायमा कक्षा १२ सम्म पढाइ भइरहेको छ। 

भक्तपुर जिल्लामा चारवटा नगरपालिका छन्। भक्तपुर, सूर्यविनायक, चाँगुनारायण र सूर्यविनायक। तीमध्ये चाँंगुनारायणले शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गरेको छ। 

पछिल्लोपटक सचिव नियुक्त भएका गेलाललाई बधाइ दिनेहरूको अहिले सामाजिक सञ्जाल फेसबुकमा ओइरो लागेको छ। 

‘मेरा घनिष्ठ मित्र, एक इमानदार र निष्ठावान राष्ट्रसेवक, सरल व्यक्तित्व, चाँगुनारायण–३ निवासी मणिराम गेलाल नेपाल सरकारको सचिव पदमा बढुवा हुनुभएकोमा मेरो, सबै चाँगुनारायण र भक्तपुरवासीका तर्फबाट अगणित बधाइ,’ चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले फेसबुकमा लेखेका छन्, ‘विगतमा जस्तै नयाँ जिम्मेवारी पनि कुशलतापूर्वक सम्पादन गर्नुहुने विश्वासका साथ हार्दिक शुभकामना व्यक्त गर्दछु।’


Leave a Reply

Your email address will not be published.