पूर्वपत्नीलाई लक्षित गर्दै गजुरेलले भने : धेरै सहेँ अब कानुनी बाटो रोज्छु

पूर्वपत्नीलाई लक्षित गर्दै गजुरेलले भने : धेरै सहेँ अब कानुनी बाटो रोज्छु

नेपाली हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलले पूर्वपत्नीविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन्। 

पटकपटक अर्को पक्षबाट (पूर्वपत्नी) विभिन्न माध्यममार्फत गाली बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै उनले अब कानुनी उपचारको बाटो अपनाउनु विकल्प नरहेको बताएका छन्। 

‘झन्डै तीन वर्षअघि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ। तर, कानुनी रुपमै आआफ्ना बाटो लागि सकेपछि पनि अर्को पक्षबाट विभिन्न माध्यमबाट बारम्बार गाली बेइज्जती गर्ने क्रम रोकिएन’, गजुरेलले भनेका छन्, ‘एउटा सार्वजानिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन रहेँ। दुई सन्तानको जिम्मा लिएर बसेको अविभावकको नाताले चुपचाप सहेँ। तर, यो गाली बेइज्जती, अनावस्यक तनावको श्रृंखला बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो। त्यसैले सहनुको सीमा कटेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको छु।’

उनले युट्युबर तथा अनलाइनलाई पनि कसैको नाम र प्रसंग जोडेर अन्तरवार्ता लिँदा पत्रकारिताको नियमलाई याद गर्न आग्रह गरेका छन्।  

‘म र मेरा सन्तानका फोटो, नाम र प्रसंग जोडेर कसैसँग अन्तरवार्ता  लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्, पत्रकारिताको नियमलाई याद गर्नोस्। अनि, देशको कानुनलाई मनन गर्नोस्। जसले भोलि कानुनी अप्ठेरो नपरोस्।’, गजुरेलले भनेका छन्।


Leave a Reply

Your email address will not be published.