रेलवे प्रभावितको समस्यामा स्थानीय पालिका गम्भीर भएनन्

रेलवे प्रभावितको समस्यामा स्थानीय पालिका गम्भीर भएनन्

स्थानीय पालिका र वडा कार्यालयले चलनचल्तीको मूल्य रेल विभागलाई पठाउन ढिला गरेकोभन्दै प्रदेश एकका रेलवे प्रभावितहरूले आपत्ति जनाएका छन्।

प्रदेश एक स्तरीय भेलाको आयोजना गर्दै उनीहरूले एक महिना अगावै रेल विभागले पत्र पठाउँदै वडा कार्यालयहरूलाई चलनचल्तीको मूल्य पठाउन भने पनि पालिकाहरूले विभागलाई पत्र पठाउन ढीला गरेको उनीहरूको गुनासो छ। जसले गर्दा मंसिरको पहिलो सातादेखिनै अघि बढाइने भनिएको मुआब्जा वितरणका काम प्रभावित हुन पुगेको छ।

जनप्रतिनिधि भएर जनताकै समस्यामा गम्भीर नभएको भन्दै रेलवे प्रभावित समन्वय समिति विर्तामोडका अध्यक्ष डा. लक्ष्मी प्रसाद मैनालीले स्थानीय सरकारले रेल प्रभावितको मर्म बुझ्न नचाहेको आरोप लगाए।

रेल विभागको प्राविधिक त्रुटीका कारण प्रताडित भइरहेका रेलवे प्रभावितको समस्यामा स्थानीय सरकार अभिभावकको रुपमा उभिन्छ भन्ने लागेकोमा एक महिना वित्दा पनि कुनै प्रक्रिया अगाडि नबढाउनुले आफूहरूलाई दुखी तुल्याएको उनले गुनासो गरे।

गत जेष्ठ२४ गते मुआब्जा सम्बन्धी ३५ दिने सूचना जारी गरे पनि रेल विभागले हासम्म प्राविधिक समस्या, क्षेत्र निर्धारण, कित्ता नम्बर र क्षेत्रफलको समस्या समाधान गर्न नसकेको बताउँदै अध्यक्ष मैनालीले रेल विभागले प्रभावितलाई ढाट्ने मात्रै काम गरेको दुखेसो पोखे।

स्थानीय पालिकाका प्रतिनिधिलाई रेल विभागले भने अनुसारको चलनचल्तीको मूल्य यथासक्य पठाइदिनुस भन्दा हामीलाई अख्तियारको डर छ भन्ने गरेको बताउँदै मुआब्जा राहत समिति मोरङ्गका अध्यक्ष रमेश दाहालले जनताको समस्यामा स्थानीय पालिका गम्भीर नभएको बताए।

जनता विकास विरोधी नभएको बताउँदै रेलवे प्रभावित इटहरीका अध्यक्ष शुसिल शाहले जनताले चलनचल्तीको मुआब्जा पाउने अवस्था नआए सडकमा उत्रन बाध्य हुने बताए। समृद्ध नेपाल शुखी नेपाली बनाउने सरकारको लक्षमा रेलवे परियोजना महत्वपूर्ण आयाम हुने बताउँदै अध्यक्ष शाहले मुआब्जाको प्रक्रिया तत्काल अघि बढाउन रेल विभागलाई सुझाव दिए।

सम्बन्धित निकाय गम्भीर नभएपछि प्रदेश एक भरीका प्रभावितले मोरङ्गको लक्ष्मी मार्गमा बृहत छलफल गरी साझा समस्यामा संगठित हुने निर्णय गरेका हुन्।

रेलवे प्रभावितको उक्त भेलाले डा. लक्ष्मी मैनालीको संयोजकत्वमा ७५ सदस्यीय रेलवे प्रभावित समन्वय तथा मुआब्जा समिति प्रदेश एक गठन गरेका छन्। नवगठित समितिको सहसंयोजकमा रमेश दाहाल (मोरङ्ग) र शुशिल शाह (सुनसरी), महासचिव रंञ्जित प्रसाई (झापा), सचिव माधव प्रसाद कोईराला (मोरङ्ग) र सहसचिवमा कृष्णदेव मेहेता (सुनसरी), चयन भएका छन्।

सदस्यहरूमा अर्जुन कार्की, विश्वराज न्यौपाने, खगेन्द्र प्रसाद खनाल, योगेन्द्र प्रसाद पौडेल, डिल्ली रमण खतिवडा, खगेश्वर उप्रती, दिलीप संग्रौला र लक्ष्मी मैनाली रहेका छन्। समितिको अन्य सदस्यहरूमा प्रदेश एक भरीका प्रभावित वडाहरूबाट एक एकजना समावेश गरीने सो भेलाले निर्णय गरेको छ। भेलामा झापा, मोरङ्ग र सुनसरीका प्रभावित पालिकाका अध्यक्ष तथा समिति सदस्यहरूको सहभागीता रहेको थियो।


Leave a Reply

Your email address will not be published.