बेंसिसहर खानेपानी आयोजनाको काम ९७ प्रतिशत सकियो, २७ सय परिवार लाभान्वित हुने

बेंसिसहर खानेपानी आयोजनाको काम ९७ प्रतिशत सकियो, २७ सय परिवार लाभान्वित हुने

लमजुङकाे बेंसिसहर बजार क्षेत्रलाई लक्षित गरी निर्माण थालिएको खानेपानी आयोजनाको काम सम्पन्न हुने चरणमा पुगेको छ।
 
खानेपानी मन्त्रालय अन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङले उक्त आयोजनाको भौतिक प्रगति करिब ९७ प्रतिशत सकिएको जनाएको छ।

आयोजनाका इन्जिनियर आशिष शर्माले बेंसिसहर सहलगानी खानेपानी आयोजनाको काम अबको एक महिनाभित्र सम्पन्न हुने बताए। भाचोक खोलाको पानीलाई प्रशोधन गरी बेंसिसहर बजारसम्म पाइपलाईन मार्फत वितरण गर्ने योजना अनुसार उक्त आयोजनाको काम सुरु गरिएको हो।

शर्माले भने, ‘बजार क्षेत्रमा पाइपलाइन बिछ्याउँदा बिग्रिएको बाटो कालोपत्रे भइरहेको छ। पानी ट्यांकी र ट्रिटमेन्ट प्लान्टको निर्माण यसअघि नै सकिसकेको छ।’ 

यस आयोजनाबाट २७ सय परिवारलाई २४ घन्टा खानेपानी वितरण गर्ने तयारी भइरहेको उनले बताए।  उक्त आयोजना अन्तर्गत ५ लाख लिटर, ३ लाख लिटर र १ लाख लिटर क्षमताका तीन वटा पानी ट्यांकीको निर्माण सम्पन्न भइसकेका आयोजना कार्यालयले जानकारी दिएको छ।

बेसिसहर नगर क्षेत्रभित्र बसोबास गर्ने करिब ४० हजार जनसंख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङका आयोजना प्रमुख देवेन्द्र झाले बताए।

याे आयोजना निर्माणमा हालसम्म करिब १८ करोड खर्च भइसकेको छ। यो परियोजनामा सरकारको ७० प्रतिशत र स्थानीय उपभोक्ता समितिको ३० प्रतिशत लगानी छ। 


Leave a Reply

Your email address will not be published.