बालबालिका जोगाऊ सरकार!
कोरोना भाइरस महामारीको दोस्रो लहरले बिस्तारै गाँज्दै लाँदा बालबालिका बढी प्रभावित भइरहेका छन्।
कोरोना महामारी सुरुवातदेखि दोस्रो लहरसम्म आइपुग्दा २४ हजारहाराहारी बालबालिका कोरोना संक्रमित भइसकेका छन्। तीमध्ये १० वर्षसम्मका ६ हजार ५ सयजना छन् भने २० वर्षसम्मका २५ हजार संक्रमित छन्।
अझ खतरनाक के हो भने अहिले दैनिक सयहाराहारी बालबालिका संक्रमित हुन थालेका छन्। यस्तो अवस्थामा स्कुल, कलेजलगायत शैक्षिक संस्था संक्रमण जोखिमको सबैभन्दा ठूलो ‘हटस्पट’ बन्ने खतरा उच्च भएको छ।
त्यसकारण भोलिका कर्णधार जोगाउन सरकारले एक निमेष ढिलो नगरी तुरुन्त शैक्षिक संस्था कम्तिमा एक महिना बन्द गर्नुपर्छ। अब पनि ‘बेवास्ता’ गर्ने हो भने भोलि अपजसको भारी सरकार आफैंले बोक्नुपर्ने छ।