चिकित्सक संघले भन्यो-जनताको स्वास्थ्यको जिम्मेवारीबाट सरकार पन्छिन मिल्दैन

चिकित्सक संघले भन्यो-जनताको स्वास्थ्यको जिम्मेवारीबाट सरकार पन्छिन मिल्दैन

काठमाडौं–नेपाल चिकित्सक संघले अस्पतालमा ‘बेड छैन’ भनेर सरकारले दिएको वक्तव्यप्रति आपत्ति जनाएको छ। स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न, शैय्या उपलब्ध गराउन नसकिने भन्दै शुक्रबार सरकारले जारी गरेको स्रूचनाप्रति संघले आपत्ति जनाएको हो।

सम्पूर्ण जनता कोभिड महामारीको संकटको सामना गरिरहेको बेला यस्तो गैरजिम्मेवारपूर्ण धारणा सार्वजनिक गरेर सरकार आफ्नो दायित्वबाट पन्छिन खोजेको संघले ठहर गरेको छ।

‘नेपाली जनताको स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारको नै भएको हुँदा कोभिड महामारीमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय आफ्नो दायित्वबाट पन्छिन मिल्दैन,’ संघका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा.बद्री रिजालले शनिबार जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ।

महामारी बढ्दै गइरहेको सुरूकै अवस्थामा स्रोत साधनको व्यवस्थापन गरी अग्रपंक्तिमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई खोप उपलब्ध गराउन संघले सरकारको ध्यानाकर्षण गराएको छ।

संक्रमितहरूको उपचारको क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मी आफैं संक्रमित भइरहेको बताउँदै उसले महामारीको अन्त्यसम्म उपचार दिनसक्ने वातावरण तथा जनशक्तिको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। महामारी रोकथाम तथा उपचारका लागि चिकित्सक संघ विगत झैं तत्पर रहेको विज्ञप्तिमा भनिएको छ।


Leave a Reply

Your email address will not be published.