पश्चिम बंगालमा ममताको ह्याट्रिक, चलेन मोदीको जादु

पश्चिम बंगालमा ममताको ह्याट्रिक, चलेन मोदीको जादु

काठमाडौं–भारतको पश्चिम बंगालमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना आइतबार बिहानदेखि सुरू भएको छ। पश्चिम बंगालमा यसपटक सिधा लडाइँ ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस (टिएमसी) र भारतीय जनता पार्टी (बिजेपी) बीच देखिएको छ।

मतगणनाको पछिल्लो रुझानअनुसार टिएमसीले बहुमतको आँकडाभन्दा बढी सिटमा जित हासिल गरिरहेको देखिएको छ। ममता नेतृत्वको टिएमसीले पश्चिम बंगालमा जितको हैट्रिक लगाउने लगभग निश्चित भएको छ।

मतगणनाको पछिल्लो परिणामअनुसार टिएमसीे १७२ र बिजेपीले ८७ सिटमा अग्रता लिएको छ भने कांग्रेस र वाम मोर्चाको गठबन्धनले अहिलेसम्म कुनै ठाउँमा अग्रता लिएको छैन।

रुझानमा टिएमसीले अग्रता लिए पनि नन्दीग्राम सिटमा ममता पछि परेकी छिन्। पश्चिम बंगालका साथै कांग्रेसका लागि असम पनि निराशाजनक नै देखिएको छ।

असममा बिजेपी ५६ सिटमा अगाडि देखिएको छ भने कांग्रेसले मात्र २८ सिटमा अग्रता कायम गरेको छ।

यसैगरी केरलमा हरेक पाँच वर्षमा सत्ता परिवर्तनको इतिहास रहेको छ। र, कांग्रेस सत्तामा फर्कने आशा गरे पनि त्यहाँ पनि उसलाई निराशा हात लाग्ने देखिएको छ।

केरलमा कांग्रेस २४ सिट र सिपिएम ५६ सिटमा अग्रता कायम गरेको छ।

तमिलनाडुमा विपक्षी डिएमके सत्तामा आउनसक्ने सम्भावना देखिएको छ। त्यहाँ कांग्रेसले १० सिटमा अग्रता लिएको छ भने बिजेपीको खासै पकड छैन।

यता पुदुचेरीमा यसअघि सत्तामा रहेको कांग्रेस मात्र एक सिटमा अग्रता लिएको छ।


Leave a Reply

Your email address will not be published.