लुम्बिनी मुख्यमन्त्रीमा विपक्षी दलको पनि दाबी

लुम्बिनी मुख्यमन्त्रीमा विपक्षी दलको पनि दाबी

काठमाडौं–मुख्यमन्त्री शंकर पाखेरेलले राजीनामा दिएपछि लुम्बिनी प्रदेशमा राजनीतिक उथलपुथलको सम्भावना बढेको छ। एमाले संसदीय दलले पोखरेललाई बहुमतको मुख्यमन्त्री बनाउने प्रस्ताव प्रदेश प्रमुखसमक्ष राखेकै बेला विपक्षी गठबन्धनले पनि सरकार गठनको दावी प्रस्तुत गर्ने भएको छ।

विपक्षी दल माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्रीका लागि दावी प्रस्तुत गर्न लागेका हुन्।

कांग्रेस संसदीय दलका नेता फकरुद्दिन खानले आफूहरू सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष आफूहरूले दावी प्रस्तुत गर्न लागेको बताए। खानका अनुसार विपक्षी दलहरूको संयुक्त बैठकले माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरेको छ।

‘हाम्रो संयुक्त बैठक भर्खरै सकिएको छ, बैठकले कुलप्रसादजीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ,’ खानले आयोमेलसँग भने,‘दावी प्रस्तुत गर्न हामी प्रदेश प्रमुख कार्यालय जाँदै छौं।’

खानले आफूहरूसँग बहुमत रहेकोले सरकारको नेतृत्वका लागि दावी गर्न लागेको बताए।

आइतबार बिहान मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८(१) अनुसार नयाँ सरकार बनाउन मार्गप्रश्स्त गरेको भन्दै राजीनामा दिएका थिए।
संविधानको धारा १६८ (१) मा प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद गठन हुने भनिएको छ।

जसपाका चार र माओवादी केन्द्रका दुईजना सांसद निलम्बित भएपछि लुम्बिनी प्रदेशमा अहिले ८१ सदस्यहुँदा एमालेको एकल बहुमत पुग्छ। लुम्बिनी प्रदेशसभामा एमालेका ४१ प्रदेश सांसद छन्।

प्रदेशसभामा नेपाली कांग्रेसका १९, सभामुखसहित माओवादी केन्द्रका १८, जसपाका २ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन््। सभामुखबाहेक विपक्षी गठबन्धनको संख्या जोड्दा ३९ मात्र पुग्छ।

तर, विपक्षी गठबन्धनले सरकार बनाउन आफूहरूसँग बहुमत संख्या रहेको दावी गरेका छन्। ‘हामीसँग बहुमत छ, सरकार गठनका लागि संख्या पुग्छ,’ खानले भने,‘सबै कुरा अहिले नभनौं।’


Leave a Reply

Your email address will not be published.