झापा प्रशासनले बन्द गर्यो सेवा
झापा–झापा प्रशासनले आइतबार मध्यरातदेखि सेमीलकडाउन घोषणा गरेको छ। जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो। बढ्दो कोरोना सङ्क्रमणका कारण अत्यावश्यक बाहेकका सबै सेवा वैशाख २० देखि २६ गतेसम्मका लागि बन्द गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सूचना प्रकाशित गरेर नयाँ नागरिकता, प्रतिलिपी,नाबालक परिचयपत्र, राहदानी, हातहतियार दर्ता नवीकरण,संस्था दर्ता तथा नवीकरण, पत्रपत्रिका दर्ता तथा राष्ट्रिय परिचयपत्रका काम रोकेको जनाएका हुन्।
शान्ति सुरक्षासँग सम्बन्धित निवेदन तथा मुद्दा र अन्य अत्यावश्यकीय सिफारिसको काम सुचारु हुने सूचनामा उल्लेख छ। जिल्ला प्रशासन कार्यालयले सेवा लिन आउने सेवाग्राहीलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गरेर मात्रै कार्यालय आउन आग्रहसमेत गरेको छ ।
