लुम्बिनीका दुई सांसद भन्छन् : शंकर पोखरेलले हस्ताक्षरको दुरुपयोग गरे

लुम्बिनीका दुई सांसद भन्छन् : शंकर पोखरेलले हस्ताक्षरको दुरुपयोग गरे

लुम्बिनी प्रदेशका दुई प्रदेश सांसदले मुख्यमन्त्रीमा पुनः नियुक्ति हुन शंकर पोखरेलले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका छन्।

कपिलवस्तु २(२) बाट निर्वाचित धर्मबहादुर लाल श्रीवास्तव र नवलपरासी (पश्चिम) १ (२) बाट निर्वाचित अजय शाहीले आफूहरूको हस्ताक्षर दुरुपयोग भएको आरोप लगाएका हुन्।

आफूहरूले मुख्यमन्त्री पोखरेललाई समर्थन नगरेको बताउँदै स्वतन्त्र राजनीतिक समूहमा रहेको उनीहरूको भनाइ छ।

प्रदेशसभा निर्वाचनमा नेकपा एमालेको चिह्नबाट स्वतन्त्र उम्मेदवारको रूपमा आफूहरूले चुनाव लडेको श्रीवास्तव र शाहीले बताए।

‘उहाँहरूकै दलको चुनाव चिन्हबाट निर्वाचन लडेका थियौं। त्यही हिसाबले संसदीय दलको बैठकमा बोलाउँदा जाने गरेका थियौं,’ श्रीवास्तवले आयोमेलसँग भने,‘आजपनि बैठकमा बोलाउनु भएको थियो। उपस्थितिमा सही गरेका छौं। तर, सरकारको समर्थन गर्ने निर्णयमा हाम्रो हस्ताक्षर छैन। उहाँहरूले हस्ताक्षर दुरुपयोग गर्नुभएको छ।’

प्रदेशसभा सदस्य शाहीले पनि पोखरेललाई आफ्नो समर्थन नरहेको बताए।

आइतबार बिहान बोलाइएको संसदीय दलको बैठकमा आफूहरूले स्वतन्त्र राजनीतिक समूह भनेर हस्ताक्षर गरेको शाहीले बताए।

‘बैठकमा उहाँले आफ्नो कुरा राख्नुभयो, राजीनामा दिने वा नयाँ सरकार बनाउने कुरापनि उठेको थिएन,’शाही भन्छन्,‘उपस्थितिमा सही गरेका छौं। सरकारलाई समर्थन गर्ने निर्णयमा हाम्रो सही छैन।’

आफूहरूले राजीनामा दिने मानसिकता बनाए पनि अन्तिम समयमा नयाँ सरकार बनाउनका लागि गठबन्धनलाई सहयोग गर्ने निर्णयमा पुगेको उनीहरूले बताए।


Leave a Reply

Your email address will not be published.