शंकर पोखरेलको शपथग्रहणलाई अवरोध गर्ने विपक्षी गठबन्धनको तयारी

शंकर पोखरेलको शपथग्रहणलाई अवरोध गर्ने विपक्षी गठबन्धनको तयारी

काठमाडौं–लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले शंकर पाखरेलको शपथग्रहण अवरोध गर्ने तयारी गरेका छन्। नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४२ प्रदेशसभा सदस्यको हस्ताक्षर गर्दै प्रदेश प्रमुखसमक्ष दावी पेश गरेका विपक्षी गठबन्धनले शपथग्रहण अवरोध गर्ने तयारी गरेका छन्।

केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र स्वतन्त्र समूहका ४२ सांसदले अपराह्न प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष दावी पेश गरेका छन्।

मुख्यमन्त्रीका लागि दावी प्रस्तुत गरेका विपक्षी गठबन्धनका प्रदेश सांसदहरू पोखरेलको शपथग्रहण रोक्न माग राख्दै प्रदेश प्रमुख कार्यालय परिसरमा धर्नामा बसेका छन्।

असंवैधानिक तरिकाले एमाले संसदीय दलका नेता शंकर पोखरेलको शपथग्रहण रोक्न आफूहरूले प्रदेश प्रमुखसमक्ष माग राखेको कांग्रेसका प्रमुख सचेतक फकिनुद्दिन खानले बताए।

उनले बहुमत नै नरहेको दलका संसदीय दलका नेतालाई जबरजस्ती शपथग्रहण गराउन खोजिए अवरोध गरिने बताए।

‘बहुमत नै नभएको व्यक्तिलाई संविधान मिचेर गरिएको नियुक्ति बदर गर्न हामीले प्रदेश प्रमुखलाई भनेका छौं,’ आयोमेलसँग खानले भने,‘उहाँले जबरजस्ती शपथग्रहण गराउन खोज्नु भयो भने अवरोध हुन्छ। हामी प्रदेश प्रमुख कार्यालयको परिसरमै धर्नामा बसेका छौं।’

प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीमा पूर्ननियुक्त भएका पोखरेलको आजै शपथग्रहण गराउने तयारी गरेका छन्।

सरकार गठनका लागि आवश्यक बहुमत संख्या ४१ जना आफूसँग रहेको दावी पोखरेलले गरे पनि चार जना प्रदेश सांसदले उनको साथ छोडिसकेका छन्।

मुख्यमन्त्रीमा पोखरेल नियुक्त भएसँगै एमाले प्रदेशसभा सदस्य दृगनारायण पाण्डेले राजीनामा दिएका छन्।

यसैगरी नेकपा माओवादी केन्द्रबाट उपनिर्वाचन जितेकी विमला वलीले माओवादी केन्द्र रोजेकी छिन्।

यता एमालेको चुनाव चिह्न सूर्यबाट चुनाव जितेका स्वतन्त्र समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीपनि पोखरेलको साथ छोडेर विपक्षी गठबन्धनतिर उभिएका छन्।

४१ मध्ये ४ जनाले साथ छोडिसकेपछि एमालेसँग अहिले ३७ प्रदेश सांसद रहेका छन्।


Leave a Reply

Your email address will not be published.