बच्चा चोर्दाचोर्दै एकजना पक्राउ
झापा। बच्चा चोर्दै गर्दा झापा सदरमुकाम भद्रपुरबाट आइतबार एक व्यक्ति पक्राउ परेका छन्।
भद्रपुर नगरपालिका ८ घोडामारा निवासी कमला टुडुका २ वर्षीय छोरा सुमनलाई लैजान खोज्ने उनी पक्राउ परेका हुन्।
घरनजिकै सडकमा जमेको पानीमा खेल्दै गरेका बालकलाई बोरामा हाल्न खोज्दै गर्दा स्थानीयले देखेका थिए। पक्राउ पर्ने व्यक्तिको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताएका छन्।
बालकका अभिभावक र गाउँलेले ती व्यक्तिलाई नियन्त्रण लिएर प्रहरीलाई खबर गरेका थिए।
तत्कालै घटनास्थल पुगेको प्रहरीले उनलाई पक्राउ गरेको हो। बच्चा चोर्न खोज्ने व्यक्ति मानसिक सन्तुलन ठिक नभएको जस्तो देखिने डिएसपी थापाको भनाइ छ।
५० वर्षजतिका ती व्यक्तिको बोली नबुझिएको र उनले नेपाली भाषा पनि नबुझेको प्रहरीले जनाएको छ।