पुनःनियुक्तिबारे पोखरेलको स्पष्टीकरण : बहुमतमा भएको समयमा दाबी गरेको हुँ, नियुक्तिपछिको विवाद निरुपण हुनेछ

पुनःनियुक्तिबारे पोखरेलको स्पष्टीकरण : बहुमतमा भएको समयमा दाबी गरेको हुँ, नियुक्तिपछिको विवाद निरुपण हुनेछ

काठमाडौं–लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुनःनियुक्त भएका शंकर पाखेरेललेले आफ्नो नियुक्तिका विषयमा स्पष्टीकरण दिएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस राख्दै पोखरेलले प्रदेश सभामा एमालेका पक्षमा बहुमत कायम रहेको अवस्थामा आफूले मुख्यमन्त्रीमा दाबी गरेको उल्लेख गरेका छन् ।

‘लुम्बिनीमा नेकपा एमाले प्रदेश सभा दल बहुमत प्राप्त दलको अवस्थामा रहेका बखत मुख्यमन्त्रीमा दाबी गरिएको हो,’ उनले लेखेका छन् ।

दलको बैठकले सर्वसम्मत रूपमा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेको र आफ्नो नियुक्ति पनि सोही आधारमा भएको उनको तर्क छ। यद्यपि उनले नियुक्तिपछि अल्पमतमा परेको विषयमा घुमाउरो भाषामा भनेका छन्, ‘नियुक्तिपछिको विवादको निरुपण प्रकृया अनुरुप नै हुनेछ ।’

साविकको नेकपाबाट उपचुनाव जितेकी विमलाकुमारी खत्री (वली)का सम्बन्धमा पनि उनले सर्वोच्चको फागनु २३ को फैसलालगत्तै उनी एमालेमा आएको दाबी गरेका छन् । नेकपा खारेज भएलगत्तै एमालेको प्रदेशसभा दलमा वलीको सहभागिता रहेको दाबी गरेका पोखरेलले उक्त विषय प्रदेशसभामा समेत दर्ता भइसकेको बताएका छन् ।

‘विमलाकुमारी खत्री फाल्गुन २३ को फैसलापछि एमालेको प्रदेशसभा दलमा सहभागी हुँदै आउनु भएको छ, उक्त विवरण त्यतिवेला नै प्रदेशसभामा दर्ता भइसकेको छ,अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानुनविपरीत कार्य हो । यस प्रकृयामा प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिनु झनै दुःखद छ,’उनले भनेका छन्।

यसबाहेक राजीनामा दिएका र पछि विपक्षी गठबन्धमा लागे भनिएका सांसदले समेत आफ्नो दाबीमा सहमति जनाएको उनको जिकिर छ। ‘चर्चामा ल्याइएका अन्य सांसदहरूसमेत दलको बैठकमा उपस्थित रहेर सरकारमा दाबी गर्ने निर्णयमा सहमति जनाउनु भएको हो। सूर्य चिह्नबाट चुनाव लडेका उहाँहरूको समर्थन कानुनीरूपमा समेत अन्य दललाई हुन सक्दैन । यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुरजी, पुष्पकमल दाहालजी र उपेन्द्र यादवजीलाई नहुनु आश्चर्यको कुरा हो ।’

बहुमत प्राप्त दललाई सरकार गठन गर्ने अधिकार सदैव रहने भन्दै उनले संवैधानिक रूपमा उत्पन्न विवादको निरूपण भएर बहुमत गुमेको अवस्थामा सरकारमा रही रहने कुरा सम्भव नरहेको पनि बताएका छन् । ‘जुन साथीहरूले अराजनीतिक ‘हर्ष ट्रेडिङ’को खेल खेलिरहनु भएको छ उहाँहरूले लुम्बिनी सरकारविरुद्ध प्रपोगण्डा सञ्चालन गर्नु स्वाभाविक हो । जहाँसम्म प्रदेश सरकारको कामको कुरा छ, सात प्रदेशमा लुम्बिनी प्रदेश अगाडि नै छ र आगामी दिनमा पनि रहने छ,” उनले भनेका छन् ।

लुम्विनी प्रदेशको यथार्थ लुम्विनीमा नेकपा(एमाले) प्रदेश सभा दल वहुमत प्राप्त दलको अवस्थामा रहेका वखत मुख्यमन्त्रीमा दावी…

Posted by Shankar Pokhrel on Sunday, May 2, 2021

यसबाहेक उनले जनता समाजवादीका ४ सांसदलाई कारबाही गर्नु पनि षडयन्त्र भनेका छन् ।

‘जनता समाजवादीका चारजना सदस्यहरूलाई अल्पमत रहेका दलका सदस्यको सिफारिसका आधारमा कारबाहीको षडयन्त्रपूर्ण नाटक मञ्चनपछि नेकपा एमाले वहुमत प्राप्त दल बनेको हो । बहुमत प्राप्त दललाई सरकार सञ्चालनको संवैधानिक दायित्व रहन्छ। जनता समाजवादीका चार जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको कुरा अस्वीकार गरिसक्नु भएको छ। पुरानो र अर्कै सन्दर्भमा गरिएको हस्ताक्षर प्रयोग गरिएको दाबी उहाँहरूको छ। संविधानले एउटा चुनाव चिह्न लिएर चुनाव जित्नेहरूलाई अर्को दल परिवर्तनको अधिकार दिएको छैन । चुनाव चिह्न सूर्य लिएकाहरू हाम्रा पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारी गर्ने कुरा लज्जास्पद विषय हो, ’ उनको दाबी छ ।


Leave a Reply

Your email address will not be published.