विश्वासको मत लिने प्रधानमन्त्रीको घोषणासँगै आन्तरिक छलफलमा खनाल-नेपाल समूह

विश्वासको मत लिने प्रधानमन्त्रीको घोषणासँगै आन्तरिक छलफलमा खनाल-नेपाल समूह

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने उद्घोष गरेसँगै सत्तारुढ नेकपा एमालेको खनाल-नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ।

सोमबार विहानैदेखि कानूनविद् र आफूपक्षीय सांसदसँग भर्चुअल माध्यमबाट छलफलमा जुटेको उक्त समूहका एक नेताले बताए।

छलफलमा विश्वासको मत दिने सम्बन्धमा संसदीय दलको ह्वीप उल्लंघन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको छ।

‘हामी ओलीजीका कार्यशैलीविरुद्ध संघर्षमा छौं, तर विश्वासको मत लिने कुरा पार्टीका प्रधानमन्त्रीसँग जोडिएको छ, त्यसैले हामी यसमा छलफल गरिरहेका छौं,’ आयोमेलसँगको कुराकानीमा माधव नेपालनिकट एक नेताले भने।

ह्वीप उल्लंघन गरे वा गर्ने निर्णय गरे पार्टीको कारबाहीमा पर्ने समेत बुझेको बताउँदै ती नेताले तत्काल कुनै निर्णयमा पुग्ने वा नपुग्ने भन्ने विषय भने टुंगो नलागेको बताए।

‘एक साता बाँकी छ, हामी छलफलमा नै छौं,’ ती नेताले भने,‘विश्वासको मत नपाए ओलीजीले के गर्नसक्नुहुन्छ, वा के-के हुनसक्छन् अन्य विकल्प के हुनसक्छन् भनेर पनि कानुनविद्सँग छलफल पनि गरिरहेका छौं ।’

कर्णाली प्रदेशमा भएको फ्लोर क्रसले झस्किएका ओलीले नेपाल-खनाल समूहका २७ सांसदमाथि सांसदबाट समेत हटाउने चेतावनी दिँदै स्पष्टीकरण सोधेका छन्। तर अहिलेसम्म कारबाही प्रक्रिया भने अगाडि बढाएका छैनन् । तर जुनसुकै समयमा कारबाहीको डण्डा चलाउन भन्दै ओलीले केन्द्रीय सदस्यलाई खाली पानामा हस्ताक्षर भने गर्न लगाइसकेका छन्।


Leave a Reply

Your email address will not be published.