ओलीले जुराइदिएको जसपा ओलीकै कारण विभाजनको संघारमा

ओलीले जुराइदिएको जसपा ओलीकै कारण विभाजनको संघारमा

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष वैशाखमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदै गर्दा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच रातारात एकता भयो।

प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेशबाट पार्टी विभाजनलाई जोगाउन वैशाख १० गते मध्यरातमा राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी (जसपा) बन्यो।

एक हिसाबले राजपा र समाजवादी पार्टीबीचको त्यो एकता भावनात्मक र आवश्यकताभन्दा बढी दल विभाजनसम्बन्धी अध्यादेशको ‘बाइप्रोडक्ट’ थियो। तर, चाहना नभए पनि मधेशकेन्द्रित दुई राजनीतिक दललाई एक हुन कुनै न कुनै रूपमा ओलीले नै सघाए।

एकताको एक वर्ष नै पुग्दै जसपा एकता अहिले संकटमा फसेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि जसपाभित्र प्रष्ट दुई धार देखिएको छ।

अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतका पूर्वराजपा पक्षीय नेताहरू ओली कित्तामा उभिए भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू विरोधमा।

र, यो समर्थन तथा विरोधको सिलसिला जसपाभित्र जारी छ।

यसैबीच प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। पुस ५ गते प्रतिनिधिसभा विघटन गरेयता राजीनामाको माग भइरहँदा चुपचाप बसेका ओलीले कोरोना महामारीका कारण मुलुक आक्रान्त रहेको बेला विश्वासको मत लिने निक्र्यौल गरेका छन्। हुन त विश्वासको मतमार्फत् उनले पक्ष र विपक्षलाई परीक्षण गर्न खोजिरहेका छन्।

तर, ओलीको ‘कार्ड’ ले जसपाभित्रको आन्तरिक लडाइँलाई थप बल्झाउने संकेत गरेको छ। किनभने महन्थ–राजेन्द्र पक्षले ओलीले विश्वासको मत लिँदा पक्षमा जाने प्रष्ट संकेत दिएको छ।

र, यसका लागि पछिल्लोपटक मधेश आन्दोलनका १२० जनामाथि लगाइएको मुद्दा फिर्तालाई कारण बनाइरहेका छन्।

सरकारसँग लगातार वार्ता गरिरहेका जसपा नेता लक्ष्मणलाल कर्णले आफूहरूले विश्वासको पक्षमा मतदान गर्ने बताए।

‘धेरैजसो मुद्दा सम्बोधन भइसकेका छन्। केही बाँकी छ, त्यो पनि सम्बोधन हुन्छ,’ कर्णले आयोमेलसँग भने,‘बढी सम्भावना विश्वासको पक्षतिरै जाने छ।’

प्रधानमन्त्री ओलीले जसपाले उठाउँदै आएको मुद्दा फिर्ता मन्त्रिपरिषद बैठकबाटै सम्बोधन गरिसकेका छन्। केही मुद्दा फिर्ता प्रक्रियामा रहेको जसपाको भनाइ छ।

महन्थ–राजेन्द्र पक्षले सार्वजनिक रूपमै माग सम्बोधन भए सरकारलाई समर्थन गर्न सक्ने प्रतिक्रिया दिँदै आएका छन्। मुद्दा फिर्ता लिएर सरकारले विश्वासको वातावरण बनाएको महन्थ–राजेन्द्र पक्षको भनाइ छ।

यद्यपि बाबुराम–उपेन्द्र पक्ष ओली सरकारलाई समर्थन नदिने अडानमा छन्।

विश्वासै नभएका ओलीलाई विश्वासको मत कदापि दिन नहुने जसपा अध्यक्ष उपेन्द्र यादव बताउँछन्। लोकतन्त्र र संविधानविरोधी प्रवृत्तिलाई सहयोग गर्नु भनेको आत्मघाती कदमबाहेक अरू केही नहुने उनको भनाइ छ।

‘केपी ओलीमाथि विश्वास नै छैन अनि विश्वासको मत कसरी दिने,’ आयोमेलसँग अध्यक्ष यादवले भने,‘विश्वासको मत दिनु भनेको लुम्बिनीमा जे भएको छ त्यसलाई सही ठहर गरेको हुन्छ। लोकतन्त्रलाई धज्जी उडाउने त्योभन्दा बढी के हुन्छ? यस्तो प्रवृत्तिलाई सहयोग गर्नु आत्मघाति कदम हुन्छ।’

ओलीलाई समर्थन गर्ने अडान लिइरहेका आफ्नै पार्टीका नेताहरू आत्महत्या गर्नतर्फ अगाडि बढ्न नहुने उनको भनाइ छ।

यद्यपि जसपाका दुबै पक्षका नेताहरू विश्वासको मतको पक्षमा जाने कि विपक्षमा जाने भन्ने विषयमा पार्टीभित्र छलफल हुने बताउँछन्।

विश्वासको पक्षमा जानु हुन्न भने त्यो छुट्टै कुरा हो, कसैलाई बाँधेर लान पनि सकिँदैन,’ जसपा नेता कर्ण भन्छन्,‘तर, पार्टीभित्र छलफल त हुन्छ।’
यस्तै अध्यक्ष यादवले पनि ओली पक्षमा जाने नजाने विषयमा पार्टीभित्र छलफल हुने बताए।

विश्वासको मतमा कता जाने विषयमा पार्टीभित्र छलफल हुने बताइरहे पनि दुवैतर्फका नेताहरूले सार्वजनिक गरिरहेका अडानअनुसार एकमत हुने सम्भावना कमै देखिएको छ।

प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने कि नगर्ने विषयमा विवाद उत्कर्षमा पुगेकै बेला पार्टी नै विभाजन हुने सम्भावना बढेको छ। र, पार्टी विभाजनको सम्भावनालाई दुवै पक्षका नेताहरूले इन्कार गर्न सकिरहेका छैनन्।

पार्टीभित्रको आन्तरिक कलहमा जसपामात्रै नभएर सबै दल फसेको बताउँदै कर्णले भने,‘हेरौं भविष्य के हुन्छ?’ अध्यक्ष यादवले पनि पार्टी के हुन्छ तत्कालै भन्न सक्ने अवस्था नरहेको बताए।


Leave a Reply

Your email address will not be published.