डोटी र बागलुङमा निषेधाज्ञा

डोटी र बागलुङमा निषेधाज्ञा

डोटीमा कोरोना स‌ंक्रमण दिनहुँ बढ्दै गएपछि आज राति १२ बजेबाट लागू हुने गरी १० दिन निषेधाज्ञा लगाइने भएको छ। कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको बसेको बैठकले आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए।

पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको स‌ंक्रमण बढेसँगै जिल्लामा दिनहुँ संक्रमित बढ्दै जान थालेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वैशाख ५ देखि यता जिल्लामा १७३ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोनाकै कारण दुईजनाको ज्यान गइसकेको छ। अहिलेसम्म डोटीमा कोरोना संक्रमित भएका प्रायः सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा बढी कोरोनाको त्रास फैलिएको छ। भारतबाट रोजगारी गरी फर्किएका नागरिकहरु सिधै गाउँमा गएर समाजमा घुलमिल भएका कारण गाउँमा संक्रमणको त्रास फैलिएको स्थानीयवासी बताउँछन्।

बागलुङमा आजदेखि निषेधाज्ञा

कोरोना संक्रमणको दर बढ्दै गएपछि बागलुङमा आजदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको छ। जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिश गरेपछि निषेधाज्ञा जारी भएको हो।

समितिको निर्णयअनुसार बागलुङ नगरपालिकामा वैशाख महिनाभर निषेधाज्ञा जारी भएको छ। यसअघि बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य संघले निषेधाज्ञाका लागि प्रशासनमा अनुरोध गरेका थिए। निषेधाज्ञाको समयमा सरकारी कार्यालय भने आंशिक खुल्नेछन्। कार्यालय प्रमुखले आलोपालो प्रणालीमा भीडभाड कम हुने गरी कार्यालय सञ्चालन गरेर अत्यावश्यक सेवा दिन समितिले निर्देशन दिएको छ।


Leave a Reply

Your email address will not be published.