भारतमा संक्रमितको संख्या २ करोड नाघ्यो, महामारी नियन्त्रणका लागि सेना परिचालन गर्न माग

भारतमा संक्रमितको संख्या २ करोड नाघ्यो, महामारी नियन्त्रणका लागि सेना परिचालन गर्न माग

भारतमा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ। बितेको चौबिस घण्टामा यहाँ ३ लाख ५५ हजार ८३२ जना संक्रमित थपिएका छन् भने ३ हजार ४३८ जना संक्रमतिको मृत्यु भएको छ।

यो बीचमा सरकारले भने केही राज्यमा संक्रमितको संख्या घट्दै गएको दाबी गरेको छ।

योसँगै भारतमा संक्रमितको संख्या २ करोड २ लाख ७५ हजार ५४३ पुगेको छ। २ लाख २२ हजार ३८३ जना संक्रमितको ज्यान गइसकेको छ।

गत अप्रल अन्तिम सातादेखि भारतमा संक्रमण उच्च विन्दुमा पुगेको थियो। त्यो बेला भारतमा ४ लाखभन्दा बढी संक्रमित एकैदिन थपिएका थिए।

भारततिर अहिले अक्सिजनको अभाव चुलिएको छ।

सबैभन्दा अक्सिजनको हाहाकार दिल्ली, महाराष्ट्र अनि उत्तरप्रदेशमा देखिएको छ।

दिल्ली सरकारले कोरोना संक्रमणको सम्पूर्ण व्यवस्थापनका लागि सेनालाई खटाउन केन्द्र सरकारसँग माग गरेको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारले दिल्लीले मागेअनुसारको अक्सिजन उपलब्ध नगराएको गुनासो गर्दै आएका छन्।

केन्द्र सरकारले भने अक्सिजनको ढुवानीमा समस्या भएको बताउँदै आएको छ। दिल्ली सरकारले अक्सिजनको ढुवानी सहज बनाउन र कोरोना नियन्त्रणमा सहयोगका लागि सेनाको सहयोग माग्दै रक्षा मन्त्रालयमा पत्र लेखेको छ।


Leave a Reply

Your email address will not be published.