आयल निगमको पाक्षिक घाटा १ अर्ब

आयल निगमको पाक्षिक घाटा १ अर्ब

सरकारी स्वामित्वको नेपाल आयल निगमको पाक्षिक घाटा १ अर्ब पुगेको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्रत्येक १५ दिनमा प्राप्त हुने खरिद मूल्यअनुसार उक्त परिमाणबराबरको पाक्षिक घाटा रहेको हो।

पछिल्लोपटक आइओसीले निगमलाई पठाएको पेट्रोलियम पदार्थका नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढेर आएको छ।

तर, कोरोना महामारीको दोस्रो लहरले मुलुकको अर्थतन्त्रमै गम्भीर समस्या पर्ने अवस्था आएका कारण हाललाई कुनै पनि पेट्रोलियम पदार्थको भाउ वृद्धि नगर्ने निर्णय गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।

‘कोरोना महामारीको यस विषम परिस्थितिमा निगमका तर्फबाट पनि मुलुकको अर्थतन्त्रमा केही योगदान पुगोस् भन्ने उद्देश्यले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको मूल्य यथावत राख्ने निर्णय भएको छ,’ प्रवक्ता उपाध्यायले भने।

आइओसीले निगमलाई प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको खरिद मूल्य पठाउने गर्छ। सोहीअनुसार निगमले पेट्रोलियम पदार्थका भाउ थपघट गर्ने गर्दै आएको छ।

आइओसीले मे १ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ७६ पैसा, डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ४२ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको निगमले जनाएको छ। यस हिसाबले निगमले प्रत्येक १५ दिनमा १ अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ।

पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि २०७१ अनुसार मूल्य समायोजन गर्नुपर्ने भए पनि निगमले कोरोना महामारीलाई मध्यनजर गरी सबैको भाउ यथावत राखेको हो।


Leave a Reply

Your email address will not be published.