काठमाडौं उपत्यकामा निषेधाज्ञा २९ गतेसम्म थप, पसल पनि बिहान २ घण्टामात्र खोल्न पाइने

काठमाडौं उपत्यकामा निषेधाज्ञा २९ गतेसम्म थप, पसल पनि बिहान २ घण्टामात्र खोल्न पाइने
Empty road at Sinamangal Kathmandu during prohibitory orders in Kathmandu Valley on Sunday, May 2, 2021.

काठमाडाैं–काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ। काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले वैशाख २९ गतेसम्मलाई निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

यसअघि काठमाडौं उपत्यकाकाे निषेधाज्ञा १५ दिन सम्म लम्ब्याउनसक्ने निर्णय मन्त्रिपरिषदले गरेकाे थियो। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि काठमाडौं उपत्यकाको निषेधाज्ञा थप कडा हुने घोषणा गरेका थिए।

उपत्यकामा वैशाख १६ गतेबिहानदेखि निषेधाज्ञा लागू गरिएको थियो। एक साताका लागि जारी गरेको निषेधाज्ञा २२ गते सकिँदै थियो।
यस्तै, प्रमुख जिल्ला अधिकारीहरुको बैठकले दैनिक उपभोग्य वस्तुका पसल खोल्ने समय पनि बिहान ७ देखि ९ बजेसम्मलाई सीमित गरेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनावश्यक भीडभाड नियन्त्रण गर्न वित्तिय संस्थामा पनि कर्मचारीको संख्या सीमित गर्ने, अनुगमन प्रभावकारी बनाउने र सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवागमन गर्न दिने निर्णय गरिएको बताए। उनले सूचना विभागको प्रेस पास नहुनेको हकमा सम्बन्धित मिडियाले जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराएको सूचीका आधारमा स्वीकृति दिने बताए।


Leave a Reply

Your email address will not be published.