कर बुझाउने म्याद बढाइदिन आग्रह
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कोरोना महामारीका बेला कर बुझाउने म्याद निषेधाज्ञा खोलेको एक सातासम्म राखिदिन सरकारसँग आग्रह गरेको छ।
नयाँ भेरिएन्टको बढ्दो कोरोना संक्रमणले राजधानीमा निषेधाज्ञा लागू भएका कारण व्यवसायीहरू आन्तरिक राजस्व विभाग पुगेर मूल्य अभिवृद्धि कर (भ्याट) विवरण तथा कर बुझाउन सक्ने अवस्था नरहेको र भन्दै नाडाले म्याद थपिदिन सरकारसँग आग्रह गरेको हो।
स्वास्थ असुरक्षाका दृष्टिले व्यवसायीहरू आफ्नो कार्यालय जान सक्ने अवस्था पनि नरहेकाले वैशाख २५ सम्मको म्याद सरकारले निषेधाज्ञा खोलेको मितिबाट एक सातासम्म कर तथा अन्य आवश्यक कागजात बुझाउन सकिने व्यवस्था गरिदिन नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आग्रह गरेका हुन्।
त्यसैगरी मुलुकका सबै अटोमोबाइल व्यवसायीलाई आफ्ना अटोमोबाइल वर्कसपमा रहेका अक्सिजन सिलिन्डर अक्सिजन निर्माण उद्योगमा बुझाएर महामारीमा सहयोग गरिदिन पनि दुलालले अनुरोध गरेका छन्।