गगन थापाले राष्ट्रपतिलाई भने : प्रधानमन्त्रीको मतियार नबन्नुुस्
काठमाडौं–नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन्। संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक र संविधानको मर्मविपरित रहेको थापाले बताएका छन्।
उनले राष्ट्रपति असंवैधानिक कदमको मतियार बन्नु लोकतन्त्रकै लागि दुर्भाग्यपूर्ण रहेको जिकिर गरेका छन्।
‘विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु असंवैधानिक र संविधानको मर्म विपरीत छ,’ थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो।’
थापाले अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकको रूपमा पेश गर्न माग गरेका छन्।
संवैधानिक परिषदसहित सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सातवटा अध्यादेश जारी गरेकी छिन्।