झापामा आजदेखि पूर्ण निषेधाज्ञा
झापा – झापामा सक्रिय कोरोना संक्रमितको संख्या ७४१ पुगेसँगै आज मध्यरातबाट पूर्ण निषेधाज्ञा जारी भएको छ। मंगलबार मात्रै १६२ जना कोरोना संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञा हुने जनाएको हो।
जिल्ला कोरोना संकट व्यवस्थापन कमिटी (डिसिसिएमसी) को मंगलबार बसेको बैठकले आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म पूर्णरुपमा निषेधाज्ञा लगाउने निर्णय गरेको हो। सोमबारदेखि आंशिक निषेधाज्ञा लगाएको प्रशासनले दुई दिन पनि नबित्दै पूर्ण निषेधाज्ञा लगाउने निर्णय गरेको हो।
झापामा आज बिहान ११ बजेसम्म पसल खोल्न दिइने छ भने जोरबिजोर प्रणालीमा यातायात सञ्चालन हुनेछन्। आंशिक निषेधाज्ञा लगाउँदा पनि आवागमनमा कुनै कमी नभएको र सर्वसाधारणको चहलपहल नघटेपछि डिसिसिएमसीको बैठकले पूर्ण निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए।
संक्रमितको संख्या दिनानुदिन वृद्धि हुँदै गएपछि प्रशासन कडा रूपमा प्रस्तुत हुन लागेको हो। पूर्ण निषेधाज्ञामा पसल, बजार, यातायात पूर्ण रुपमा बन्द हुनेछन्। सम्बन्धित जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय पुगेपछि प्रशासनलाई पूर्ण निषेधाज्ञा लगाउन पाउने कानुनी अधिकार छ। सोही अधिकार प्रयोग गरेर झापामा पूर्ण निषेधाज्ञा लागू गरिएको हो।


